सिंगटी हाइड्रो आईपीओः आवेदन १२ लाख नाघ्यो, ७.१५ गुणा बढी कित्ता माग

0
Shares

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेको साधारण शेयर (आईपीओ) मा उच्च आकर्षण देखिएको छ । चैत ६ गते शुक्रबारदेखि आईपीओ जारी गरेको कम्पनीको आईपीओमा सोमबार ५ बजेसम्ममा १२ लाख २२ हजार बढी आवेदन परेको हो ।

हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबार साँझ पाँच बजेसम्म १२ लाख २२ हजार ८३२ वटा आवेदनबाट १ अर्ब ८८ करोड ७२ लाख ९० हजार रूपैयाँ बराबरको १ करोड ८८ लाख ७२ हजार ९०० कित्ता शेयर माग भएको हो ।

कम्पनीले कर्मचारी र म्युचुअल फण्डका इकाईलाई सुरक्षित गरी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेकोमा सोमबारसम्म ७.१५ गुणा बढी माग परेको हो ।

आईपीओ निष्काशन बन्द हुने अन्तिम दिन १० गते मंगलबारसम्म यस निष्काशनमा पनि १५ लाख बढी आवेदन पर्ने आंकलन गरिएको छ । हालसम्म आईपीओमा औषतमा दैनिक ३ लाखको आवेदन परिरहेको छ ।

कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था रहेपनि उच्च आवेदनका कारण १० कित्ता शेयर नै गोलाप्रथाबाट प्राप्त गर्ने अवस्थाले १० कित्ताका लागि १ हजारको आवेदन नै यस आईपीओमा प्रयाप्त हुनेछ ।

  • मध्यम रुपमा सुरक्षित रेटिङ्ग

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस (आइए)’ रेटिङ्ग प्रदान गरेको छ ।

यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

सिंगटी हाइड्रोपावरले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ ।

आयोजनामा लाग्ने कुल लगानी चार अर्ब ३३ करोडमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।