एक सातामा सामान्य घट्यो सुनको भाउ, चाँदी भने महँगियो


काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबादेखि शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ९० रुपैयाँले महँगिएको हो ।

महासंघका अनुसार आइतबार सुनको भाउ एक हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ९०० रुपैयाँमा झरेको थियो । त्यसैगरी सोमबार पनि सुनको मूल्य घटेको थियो । सोमबार तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार तोलामा एकैदिन तोलामा ४ हजार ४०० रुपैयाँले बढेर प्रतितोला ३ लाख नाघेको थियो । मंगलबार सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार भने सुनको भाउ घटेको छ । बुधबार सुन तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ४ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै मूल्यमा बढोत्तरी आएको छ । साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३०० रुपैयाँको कारोबार भएको चाँदी शुक्रबारसम्म आइपुग्दा प्रतितोला ५ हजार ३९० रुपैयाँ पुगेको छ । महासंघका अनुसार सोमबार चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार एकैदिन चाँदी तोलामा ३५५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ७१० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

बिहीबार तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ७४५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार भने एकैदिन तोलामा ३५५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३९० रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।

प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार  ०९ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।