चिलिमे–त्रिशूली प्रसारण लाइनको प्रगति ४५ प्रतिशत, पहिरोले काममा अवरोध

0
Shares

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत पुगेको छ ।

आयोजनाले रसुवाको चिलिमेदेखि त्रिशूली ३ बी २२० केभी हबसम्म २७ किलोमिटर प्रसारण लाइन र चिलिममा सबस्टेसन निर्माण गरिरहेको छ ।

आयोजनाको सर्वे र डिजाइन सकिएको छ । टावरका उपकरणको उत्पादन भइरहेको छ ।  जनताको जलविद्युत कार्यक्रम अन्तर्गत चिलिमे जलविद्युत आयोजनाको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन यही प्रसारण लाइनमा जोडिने छ ।

आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३ बी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्ने छ ।
प्रसारण लाइनका ८० टावरमध्ये १५ वटाको जग हाल्नका लागि खाल्डो खनिएको आयोजना प्रमुख केदार सिलवालले बताए ।

‘भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने छ, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने अवस्था छ । ठाउँठाउँमा पहिरो गएकाले कामलाई तिब्रता दिन नसकिएको उनले बताए ।

प्रसारण लाइनको आगामी फागुनको दोस्रो साता (२९ फेब्रअरी २०२०) भित्र र चिलिमे हब सबस्टेसनकोनिर्माण आगामी पुसको दोस्रो साताभित्र (३१ डिसेम्बर २०१९) सक्ने लक्ष्य राखिएको छ । त्रिशूली ३ बी हव सबस्टेसन र चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ हो ।

३ करोड ५० लाख अमेरिकी डलर (करिव ३ अर्ब ५० लाख रुपैया“) अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकार, जर्मन विकास बैक (केएफडब्लु) र युरोपियन इन्भेष्टमेन्ट बैक (इआइबी)को लगानी रहनेछ ।