नक्कली भ्याट बिल प्रयोग गरी २ अर्ब ७३ करोड ४४ लाख राजश्व छली, ९ फर्म बिरुद्ध मुद्दा

0
Shares

राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली गर्ने ९ वटा फर्म बिरुद्ध मुद्दा दर्ता गराएको छ । विभागले चैत ११ र १३ गते गरेर उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

विभागले चैत ११ गते रेणु ट्रेड इन्टरप्राइजेज समेतका ४ वटा फर्महरुविरुद्ध २ अर्व १७ करोड ४५ लाख १८ हजार १०७ विगो असुल गरी उक्त फर्मका कारोवार संचालक, बैक खाता संचालक तथा प्रोप्राईटरहरुलाई जरिवाना र कैद मागदावी उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको हो ।

चैत १३ गते ओम श्रीराम इन्टरप्राइजेज समेतका ५ वटा फर्महरुले ५६ करोड ९ लाख ४० हजार ८९६ रुपैयाँ विगो असुल गरी उक्त फर्महरुका कारोवार संचालकरप्रोप्राईटर तथा बैक खाता संचालकहरुलाई जरिवाना र कैद मागदावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जनाएको छ । ।विभागका अनुसार ९ फर्मले नक्कली भ्याट विल प्रयोगगरी २ अर्ब ७३ करोड ४४ लाख ५९ हजार ३ रुपियाँ राजश्व छली गरेका हुन् ।

विभागले सिरहाको कल्याणपुर नगरपालिका ११ घर भई हाल महालक्ष्मी नगरपालिका १ इमाडोल बस्ने ओएनएस इन्टरप्राइजेजका कारोबार सञ्चालक किशोरी यादव, प्रोप्राइटर प्रमिलादेवी यादव र बैंक खाता सञ्चालक विशाल अग्रवाल बिरुद्ध ७६ करोड ६७ लाख ८३ हजार ९ सय ३९ रुपियाँ माग दाबीसहित चैत ११ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

यसैगरी सिराहा जिल्ला, कल्याणपुर घर भई हाल ललितपुर, महालक्ष्मी नगरपालिका-१ ईमाडोल, बस्ने रेणु इन्टरप्राइजेजका कारोबार सञ्चालक किशोरी यादव, रेणुकुमारी यादव र विनय अग्रवाल विरुद्ध ५० करोड ६० लाख ८२ हजार २ सय २० रुपियाँ माग दाबी सहित मुद्दा दर्ता गरेको छ ।

यस्तै सिराहा जिल्ला, कल्याणपुर घर भई हाल ललितपुर, महालक्ष्मी नगरपालिका-१ ईमाडोल, बस्ने रुपम ट्रेड कन्सर्नका साझेदार तथा कारोवार संचालक किशोरी यादव समेत ३ जनाबा६ ४९ करोड १८ लाख ६० हजार पँंच सय २६ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई  चैत ११ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

झुट्टा तथा नक्कली विजक प्रयोग गरी राजस्व छलि गर्ने सिराहा जिल्ला, कल्याणपुर -११, घर भई हाल ललितपुर, महालक्ष्मी नगरपालिका-१ ईमाडोल, बस्ने आरजु इन्टरनेशनलका कारोवार संचालक किशोरी यादव समेत ३ जनाबाट ४० करोड ८७ लाख ९१ हजार ४२२ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मिति चैत ११ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जनाएको छ।

पर्सा जिल्लाको पर्सागढी नगरपालिका ४ बस्ने ओम श्रीराम इन्टरप्राइजेजका प्रोप्राइटर वीरेन्द्रराम चमार विरुद्ध २७ करोड ६३ लाख ४० हजार ७ सय २५ रुपियाँ माग दाबीसहित मुद्दा दर्ता भएको हो ।

त्यस्तै बारा जिल्ला करैया गाउँ पालिका वडा नम्बर ७ बस्ने एभरेष्ट ट्रेड कन्सर्नका प्रोप्राइटर महेश हजारा बिरुद्ध १० करोड १२ लाख ७५ हजार ३ सय ९५ रुपियाँ, यस्तै महोत्तरी जिल्ला पिपरा गाउँ पालिका ५ बस्ने द भिजन इन्टरप्राइजेजका प्रोप्राइटर दुर्गेशकुमार झा तथा फर्मका बैंक खाता सञ्चालक नसिबकुमार झा बिरुद्ध १० करोड १० लाख ३१ हजार ३ सय २७ रुपियाँ माग दाबी सहित मुद्दा दर्ता गरिएको हो ।

त्यसैगरी पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका ३१ बस्ने गुरु गणेश इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिका सञ्चालक शुरेस सहनी तथा बैंक खाता सञ्चालक रामप्रसाद महतो विरुद्ध ७ करोड ७९ लाख ४५ हजार ८ सय १९ रुपियाँ र यस्तै उदयपुर जिल्ला त्रियुगा नगरपालिका ७ बस्ने एनआईसी ट्रेडर्सका प्रोप्राइटर भुपेन्द्र कार्की तथा बैंक खाता सञ्चालक गोपालप्रसाद भट्टराई बिरुद्ध ४३ लाख ४७ हजार ६ सय ३० रुपियाँ माग दाबी सहित चैत १३ गते नै मुद्दा दर्ता गरिएको विभागले जनाएको छ।

यी  फर्महरुले मालवस्तु खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्महरुलाई बिक्री बिजक जारी गरी उक्त फर्महरुबाट बिक्री रकम भुक्तानी लिई सो बिजक मार्फत असुल गरेको मुल्य अभिबृद्धि कर रकम सरकारी कोषमा दाखिल नगरेको र विभिन्न फर्महरुलाई नक्कली एवम् झुट्टा बिजक उपलब्ध गराई जालसाजी गरी मूल्य अभिबृद्धि कर, आयकर र लाभांश करसमेतको राजश्व चुहावट गरेको अनुसन्धानबाट पुष्टी भएपछि मुद्दा दर्ता गरिएको विभागले जनाएको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।