अपर तामाकोशीको शेयर भाउ महिना दिनमै ६१ % ले बढ्यो, अन्यको के भयो ?

0
Shares

पछिल्लो एक महिनामा नेप्सेमा सूचीकृत रहेका सबै जलविद्युत कम्पनीहरुको शेयर भाउ बढेको छ । एक महिनाको अवधिमा जलविद्युत समूहको सूचक साढे २५ प्रतिशतले उकालो लागेको हो।

गत फागुन १७ गते सोमबार १९७० अंकमा रहेको जलविद्युत समूहको सूचक बढेर चैत १९ गते बिहीबारसम्म आइपुग्दा २४७३ अंकमा पुगेको छ । यसबीचमा जलविद्युत समूहको सूचक २५.४९ प्रतिशतले बढेको छ । अपर तामाकोशीको शेयर भाउ उच्चदरले बढ्दा यो समूहको सूचक समेत उच्चदरले बढेको हो । यस अवधिमा नेप्से सूचक भने ११६ अंकले अर्थात २५१५ अंकबाट बढेर २६३१ विन्दुमा पुगेको छ । एक महिनाको अवधिमा नेप्से सूचक ४.६४ प्रतिशतले बढेको हो ।

माथिल्लो तामाकोशी आयोजनाबाट आगामी असारसम्ममा बिजुली उत्पादन हुने खबरहरु सार्वजनिक भएपछि यसको शेयर भाउ निरन्तर उकालो लागेको हो । आयोजनाले पहिलो युनिटबाट बैशाखदेखि र अरु बाँकी युनिटबाट आगामी असारसम्म बिजुली उत्पादन गर्नेगरी काम गरिरहेको दाबी गर्दै आएको छ । बिजुली बल्ने दिन नजिकिँदै गर्दा आयोजनाको शेयर भाउ समेत आकाशिएको हो ।

एक महिनाको अवधिमा अपर तामाकोशीको शेयर भाउ प्रतिकित्ता ३३५ रुपैयाँले बढेको छ । गत फागुन १७ मा प्रतिकित्ता ५४५ रुपैयाँ रहेको शेयरमूल्य बढेर चैत १९ सम्म आइपुग्दा ८८० रुपैयाँ कायम भएको छ । कारोबार अवधिमा भने यसको मूल्य ९ सय रुपैयाँमाथिसम्म पुगेको थियो । अपर तामाकोशीको मूल्य बढ्दै गर्दा अन्य जलविद्युत कम्पनीहरुको मूल्य समेत बढेको छ ।

एक महिनाको अवधिमा रैराङ हाइड्रोपावरको शेयरमूल्य करिब ४० प्रतिशत, सान्जेनको साढे ३० प्रतिशत, युनाइटेड मादी हाइड्रोको पनि ३० प्रतिशत बढीले शेयरमूल्य बढेको छ । पछिल्लो एक महिनामा १९ कम्पनीको शेयरमूल्य दोहोरो अंकले बढेको छ । सबैभन्दा कम शेयर मूल्य बढ्ने अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ०.६६ प्रतिशतले बढेको छ ।

दिव्यश्वरी हाइड्रो, बुटवल पावर कम्पनी, आँखुखोला लगायतका कम्पनीको शेयरमूल्य कमदरले बढेको छ । यसअवधिमा १० कम्पनीको शेयरमूल्य एकल अंकमा बढेको छ । सहायक कम्पनीहरुको भाउ बढ्दा चिलिमे हाइड्रोको शेयर मूल्य भने जम्मा ५.३६ प्रतिशतले बढेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० चैत्र २०७७, शुक्रबार  १४ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।