एक सातामै सुन तोलामा झण्डै ९ हजारले सस्तियो, चाँदीमा पनि गिरावट


काठमाडौँ । नेपाली बजारमा यो साता सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । साताको सुरुवात र अन्त्यको मूल्य तुलना गर्दा सुन र चाँदी दुवैको मूल्य घटेको छ । एक सातामा सुन तोलामा ८ हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एकैदिन सुनको भाउ तोलामा ८ हजार २०० रुपैयाँले घटेको थियो ।
आइतबार सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन मंगलबार भने सुनको भाउ बढेको हो । मंगलबार सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार पुनः सुनको मूल्यमा उच्च गिरावट आएको थियो । बुधबार एकैदिन सुनको मूल्य तोलामा १० हजार १०० रुपैयाँले घटेसँगै प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घट्नेक्रम बिहीबार पनि दोहोरियो । बिहीबार पनि सुन तोलामा ५ हजार १०० रुपैयाँले घटेसँगै प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुनको मूल्यमा वृद्धि भएको थियो । शुक्रबार सुन तोलामा ५ हजार ३०० रुपैयाँले बढेसँगै प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भई यो साताको लागि कारोबार बन्द भएको हो ।

यो साता चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार एकैदिन चाँदी तोलामा ३३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८९५ रुपैयाँको कारोबार भएको चाँदी शुक्रबारसम्म आइपुग्दा प्रतितोला ४ हजार ८४० रुपैयाँमा झरेको छ ।

महासंघका अनुसार सोमबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार तोलामा २० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार एकैदिन तोलामा १८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदी तोलामा ९० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा १९० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८४० रुपैयाँ कायम भई यो साताको कारोबार बन्द भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र भू–राजनीतिक तनावबीच सुनको मूल्यमा ठूलो उतारचढाव देखिएको छ । इरान–अमेरिकाको युद्धले भूराजनीतिक तनावले कच्चा तेलको मूल्य वृद्धि हुँदा लगानीकर्ता सुनभन्दा पनि तेलतर्फ आकर्षित भएका छन् । जसको कारण सुन र चाँदीको मूल्यमा तीव्र गिरावट आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उल्लेख्य मात्रामा घटे पनि नेपालमा भने सरकारको कर नीतिका कारण उपभोक्ताले सोचेजस्तो राहत पाउन सकेका छैनन् । सरकारले सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएपछि नेपाली बजारमा सुन महँगो भएको हो । अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा पनि नेपालमा भन्सार वृद्धिका कारण मूल्य अझै उच्च नै देखिएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार  ०९ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।