सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीहरुलाई प्रतिव्यक्ति चार लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४।४ लाख दिने निर्णय गरेको जानकारी दिए ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा ३७ वर्षपछि नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । उपाधिसँगै नेपालले ५ हजार डलर पुरस्कार पनि पाएको छ ।
नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यसअघि नै विजेता खेलाडीलाई एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ ।
यस्तै बैठकले विज्ञापन बोर्डको अध्यक्षमा नेपाल टेलिभिजनको महाप्रबन्धकको भूमिका निर्वाह गरिसकेका लक्ष्मण हुँमागाईंलाई नियुक्त गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले हुँमागाईंलाई नवगठीत बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फागुन २० मा सूचना जारी गरी बोर्डको अध्यक्षका लागि आवेदन माग गरेकोमा लेखनाथ शर्मा (पंगेनी) र रमेशकुमार खड्काले पनि आवेदन दिएका थिए ।
क्लीनफिड नीति मस्यौदामा समेत संलग्न रहेका हुमागाईंको नियुक्तीले सो नीतिको प्रभावकारी कार्यान्वयन हुने अपेक्षा गरिएको छ । गत कात्तिक ७ देखि नेपालका टेलिभिजन च्यानलहरूमा क्लीनफिड लागू गरिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया