इन्टरनेट पहुँच साढे दुई करोड जनसंख्यामा

0
Shares

नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्याङ्क अनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।

गत पुस महिनाको तुलनामा माघ महिनामा ६ लाख ८३ हजार बढी इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । गत पुस महिनासम्म कूल दुई करोड ४७ लाख ३५ हजार ६५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ ।

कूल जनसङ्ख्याको ८४ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर उक्त प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । माघसम्म मोबाइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ । एक करोड १३ लाख बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ६० हजार र एनसेलको २४ लाख ९१ हजार रहेको छ ।

त्यस्तै फोरजी प्रयोगकर्ता ७० लाख ९२ हजार र इभिडियो प्रयोगकर्ता एक लाख ३६ हजार ५७३ छन् । फोरजी प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका छन् । माघ मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४३ लाख २५ हजार ९३६ रहेका छन् ।

नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २५ लाख ४४ हजार ७२४ र स्मार्ट टेलिकमका दुई लाख २२ हजार छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २० चैत्र २०७७, शुक्रबार  १८ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।