उद्योगको विद्युत लाइन नकाट्न उद्योग परिसंघको आग्रह


काठमाडौं । नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रभित्रको भाडा सम्बन्धी विवादको अन्तिम कानुनी टुंगो नलाग्दासम्म उद्योगहरूको विद्युत लाइन नकाट्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

परिसंघले जारी गरेको विज्ञप्तिमा औद्योगिक क्षेत्रको भाडा वृद्धि सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलालाई उद्योगीहरूले स्वीकार गरिसकेको उल्लेख गर्दै सो निर्णय पुनरावलोकनका लागि पुनः अदालतमा पुगेकाले विवादको अन्तिम निरुपण बाँकी रहेको जनाएको छ।

यस्तो अवस्थामा औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको विद्युत आपूर्ति नरोकिनु पर्ने तथा काटिएका उद्योगहरूको लाइन पुनः जडान गरिनुपर्ने परिसंघको माग छ।

साथै, सर्वोच्च अदालतको फैसलाअनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेको र अन्य उद्योगीहरू पनि भुक्तानी प्रक्रियामा रहेको भन्दै भाडा तिर्न दिइएको सात दिनको समय अपर्याप्त भएकाले समयावधि थप गर्न समेत परिसंघले आग्रह गरेको छ।

परिसंघले उत्पादनमूलक उद्योगहरूलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने वर्तमान अवस्थामा उद्योग सञ्चालनमा कुनै अवरोध नआउने वातावरण बनाउन सम्बन्धित सबै पक्षसँग सहजीकरणको अपिल गरेको छ।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार  ०९ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।