यही कार्यकालमा सुकुमवासी र सहकारी समस्या समाधान गर्छौं : प्रधानमन्त्री शाह


काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले यही कार्यकालमा सुकुमवासीदेखि सहकारी समस्या समाधान गर्ने बताएका छन् । भरतपुरमा भएको राष्ट्रि स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको उद्घाटनमा उनले सो कुरा बताएका हुन् ।


‘हामीले यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौं । यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौं ।’ प्रधानमन्त्री शाहले भने, ‘अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौं । अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो ।’


साथै प्रधानमन्त्री शाहले भारतसँगको सीमा समस्याबारे ब्रिटेनको मध्यस्थता नखोजिएको दाबी गरेका छन् ।


“हामीले सीमाको विषयमा बोल्दा आपत्ति जनाइयो । मलाई अचम्म लाग्यो । तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस, हामीसित त प्रमाण छ । कालापानी लिपुलेकको प्रमाण छ । ब्रिटिसले राज गर्दा कालापानी लिपुलेकको त्यो प्रमाण ल्याउँछौँ भनेका हौँ,” शाहले भने, “ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ । हामी हाम्रो छिमेकीसित आफैँ कुरा गरेर मिलाउँछौँ ।”


उनले मन्तव्यका क्रममा कालापानी र लिपुलेकको विषयमा आफूहरूसँग प्रमाण रहेको पनि बताए । “यसमा आशंका मान्नु पर्दैन । मेरो राष्ट्रियतामा कुनै पनि आशंका गर्नु पर्दैन,” उनले भने ।


प्रकाशित मिति: ७ असार २०८३, आइतबार  १८ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।