११ महिनामा देशको व्यापार घाटा १५ प्रतिशतले बढ्यो, आयात/निर्यात कति ?


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) मा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च हुँदा मुलुकको व्यापार घाटा पनि बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार समिक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेर २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कुल व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ बराबरको थियो ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोडको आयात भएको थियो ।

त्यसैगरी, निर्याततर्फ पनि सुधार देखिएको छ । समिक्षा अवधिमा निर्यात १२.२८ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोडको निर्यात भएको थियो । यद्यपि, आयातको तुलनामा निर्यात अति कम रहेको तथ्यांकले प्रष्ट पारेको छ ।

आयातमा भएको उच्च वृद्धिका कारण मुलुकको व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधीमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ रहेको थियो ।

नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.२० प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधीमा आयातको हिस्सा ८६.९२ प्रतिशत थियो ।

यता, निर्यातको हिस्सा घटेर १२.८० प्रतिशतमा सीमित भएको छ । गत वर्ष निर्यातको हिस्सा १३.०८ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।