राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ ।
केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्रयाक खोल्ने कार्य प्रभावित भएको थियो ।
चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महिनादेखि रोकिएको निर्माण कार्य शुरु भएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताए ।
सिमिकोट–हिल्सा सडक खण्डमा च्याछरा चट्टाने भिर तथा सडकमा रहेका विभिन्न चेनेजमा कडा चट्टानहरु फुटाउने कार्य तीव्र गतिमा भइरहेको छ ।
दुई महिनाभित्र यस खण्डको ‘ब्रेक थ्रु’ भई सिमिकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट सजिलै यात्रा गर्न सकिनेछ ।
त्यसैगरी सिमिकोट सल्लिसल्ला खण्डमा रहेको सल्लिसल्लाको भिर ब्रेकर करिब एक महिना लगाएर फुटाइसकेको हुँदा हुम्लाको चङ्खेली गाउँपालिका हुँदै १२ किलोमिटर ट्र्याक सडक सर्केगाड गाउँपालिकाको दुल्लीकुनासम्मा खुलिसकेको र ट्याक्टरसमेत पुगिसकेको अवस्था रहेको सपना धुलिखेल जेभी काठमाडौँका आधिकारिक प्रतिनिधिले जानकारी दिए। अब दुल्लीकुनाको भीर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायतका उपकरण सुर्खेतबाट ल्याउने तयारी भइरहेको र भिर फुटाउने कामसमेत चाँडै शुरु हुने उनले जानकारी दिए ।
खार्पुनाथ गाउँपालिकामा रहेको बोक्चेगौंडामा ४०० मिटरको भिरबाट अब एक्साभेटर मेसिन छिर्न सक्ने पि एस दि क्याराभान कङ्ग्री जेभीका स्थानीय प्रतिनिधि क्याछोक लामाले बताए ।
योजना कार्यालय सिमिकोटबाट प्राप्त जानकारी अनुसार अब ट्रयाक खोल्न करिब १५ किलोमिटर मात्र बाँकी छ । विशेषगरी असाध्यै अप्ठ्यारो छारे भिर करिब एक किलोमिटर रहेकामा उक्तभिरको एलाइन्मेन्ट छलेर दुईवटा बेलिब्रिज पुल जडान गर्न सके र निर्माण व्यवसायीले निर्माण कार्यमा तदारुकता देखाए हुम्ला जिल्लाको सदरमुकाम जोड्ने कार्य अबको एक वर्षभित्र सकिने देखिन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया