सेयर बजारमा लगातार गिरावट, २७ सय विन्दुबाट तल झर्यो नेप्से


काठमाडौँ । मंगलबार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेसँगै २७ सय विन्दुबाट तल झरेको छ । आज नेप्से २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा कायम भएको हो ।

मंगलबार सेयरबजारमा ३५३ कमपनीका सेयर कारोबार भएका छन् । यी मध्ये २२ कम्पनीका सेयरमूल्य बढ्दा २३९ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार, आज १ करोड ४० हजार १६४ कित्ता सेयर ७२ हजार ८५४ पटकमा ४ अर्ब ३६ करोड २१ लाख ९५ हजार रुपैयाँमा किनबेच भएको छ ।

सोमबार नेप्से १.४६ अंकले घटेर २७००.६५ अंकमा झर्दा ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार टक्सार पिखुवाखोला हाइड्रोेपावर, याम्बालिङ हाइड्रोपावर तथा लक्ष्मी उन्नति कोषका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने बुङगल हाइड्रो, एपोलो हाइड्रोपावर तथा सोपान फर्मास्युटिकल्स्का सेयरधनी रहेका छन् ।

मंगलबार कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ३४ करोड १६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सोपान फर्मास्यूटिकल्सको १८ करोड ९० लाख ९८ हजार रुपैयाँको सेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको १७ करोड २४ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार  १५ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।