लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम २ अर्ब ८३ करोडमा सीमित


काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पनि गिरावट आएको छ । यो साता लागेसँगै लगातार घटेकाे नेप्से आज चौथो दिन पनि घटेको हो । बिहीबार नेप्से परिसूचक ८.५० अंकले घटेर २६५१.५२ अंकमा झरेको छ ।

बिहीबार कारोबार रकममा पनि उच्च गिरावट आएको छ । बुधबार ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँ कारोबार भएको छ ।

बिहीबारको कारोबारमा ३३८ कम्पनीका ६४ लाख ८० हजार ५९९ कित्ता सेयर ४६ हजार ७५१ पटक किनबेच भएको हुन् । आज ८३ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार उत्पादन तथा प्रशोधन बाहेक सबै उपसमूह राताम्मे भएका छन् । आज उत्पादन तथा प्रशोधन उपसमूहको ०.१४ प्रतिशतले बढेको हो ।

यता, बैंकिङ ०.१९, विकास बैंक ०.१५, वित्त ०.३६, होटल तथा पर्यटन ०.५३, जलविद्युत ०.४१, लगानी ०.१६, जीवन बिमा ०.२२ प्रतिशत, लघुवित्त ०.१५, म्युचुअल फण्ड ०.१४, निर्जीवन बिमा ०.४०, अन्य ०.४७ र व्यापार १.९६ प्रतिशतले घटेका छन् ।

आज टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरका सेयर मूल्य करिब १५ प्रतिशतले बढेका छन् । यता भुजुङ हाइड्रोपावरको सेयर मूल्य ११.०३ प्रतिशतले र सीवाईसी लघुवित्तको सेयर मूल्य ८.९७ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा सोपान फर्मास्यूटिकल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज १२ करोड ७७ लाख २५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १२ करोड ८ लाख २९ हजार रुपैयाँको सेयर किनबेच भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोड ५९ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।