नेपाल टेलिकमको स्वतः नवीकरण हुने प्रिपेड प्याकेज सञ्चालनमा


काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण हुने नयाँ सदस्यतामा आधारित प्रिपेड प्याकेज सञ्चालनमा ल्याएको छ।

कम्पनीका अनुसार एकपटक सेवा सक्रिय गरेपछि ग्राहकले हरेक महिना पुनः प्याकेज खरिद गर्नुपर्ने झन्झट हट्नेछ। मोबाइलमा पर्याप्त ब्यालेन्स भएमा प्याकेज स्वतः नवीकरण हुने व्यवस्था गरिएको छ।

नेपाल टेलिकमले ३० दिनका लागि २९९, ४९९ र ७९९ रुपैयाँका तीनवटा प्याकेज उपलब्ध गराएको जनाएको छ। यी प्याकेजमा विभिन्न परिमाणका सबै नेटवर्कमा कल, डाटा र एसएमएस सुविधा समावेश गरिएको छ। ७९९ रुपैयाँको प्याकेजमा सबै नेटवर्कमा असीमित कल, मासिक ३०० जीबी डाटा तथा ३०० वटा एसएमएस उपलब्ध हुने कम्पनीले जनाएको छ।

यसका साथै आवश्यकताअनुसार १, २ र ४ जीबी क्षमताका अतिरिक्त डाटा प्याकेजसमेत उपलब्ध गराइएको छ।

ग्राहकहरूले १४१५ डायल गरी प्राप्त निर्देशनअनुसार उक्त सेवा सक्रिय गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार  १५ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।