लुम्बिनी क्षेत्रमा एआई अनुसन्धान र विकास केन्द्रको स्थापना : एलटीआईसी र वेस्टर्न मेगा कलेजबीच ऐतिहासिक सम्झौता


काठमाडौँ । लुम्बिनी प्रदेशको प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ लुम्बिनी क्षेत्रमा एआई अनुसन्धान र विकास केन्द्रको स्थापना गरिएको छ। बुटवलस्थित वेस्टर्न मेगा कलेज र लुम्बिनी टेक इनोभेसन सेन्टरबीच उद्योग र प्राज्ञिक क्षेत्र जोडने उद्देश्यका साथ एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यो रणनीतिक साझेदारीले कलेजमा सिकिने सैद्धान्तिक ज्ञान र उद्योगको व्यावहारिक अभ्यासबीचको खाडललाई पुर्नेछ, जसले गर्दा यस क्षेत्रका विद्यार्थीहरूले स्थानीय स्तरमै विश्वस्तरीय प्रविधिको अनुभव लिन पाउनेछन्।

उद्योग र प्राज्ञिक क्षेत्रको प्रत्यक्ष समन्वय

यस ऐतिहासिक समझदारी पत्रमा लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धनबहादुर राना र वेस्टर्न मेगा कलेजका प्रिन्सिपलले औपचारिक रूपमा हस्ताक्षर गरेका छन्।

लुम्बिनी प्रदेशमा नवप्रवर्तन र प्रविधि विकासलाई गति दिन आयोजित यस कार्यक्रममा मुख्य नेतृत्वकर्ताहरूको उपस्थिति रहेको थालिएको छ । जसमा प्रख्यात एआई अनुसन्धानकर्ता तथा एलटीआईसीका संस्थापक निर्देशक कृष्ण सापकोटा रहेका छन् । भने वेस्टर्न मेगा कलेजका दूरदर्शी बिआईटी कोअर्डिनेटर कृष्ण श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा बोल्दै नेतृत्वकर्ताहरूले लुम्बिनी क्षेत्रमै एआई अनुसन्धान र विकास केन्द्र स्थापना हुनुले यहाँका दक्ष जनशक्ति बाहिरिने क्रमलाई रोक्न र विद्यार्थीहरूलाई स्थानीय स्तरमै आधुनिक प्रविधिको पहुँच पुर्‍याउन ठूलो मद्दत गर्ने विश्वास व्यक्त गरे ।

स्थानीय प्रतिभाका लागि अवसर : इन्टर्नसिप, कार्यशाला र रोजगार सुनिश्चितता

यो साझेदारी विशेष गरी आईटी र बिआईटी पढिरहेका विद्यार्थीहरूको सुनौलो भविष्य निर्माण गर्न केन्द्रित छ। दुवै संस्थाहरूले मुख्य तीन स्तम्भमार्फत स्थानीय इकोसिस्टम बलियो बनाउने प्रतिवद्धता जनाएका छन् । व्यावहारिक उद्योग कार्यशाला अन्तर्गत विद्यार्थीहरूले वरिष्ठ इन्जिनियरहरूको प्रत्यक्ष निगरानीमा जेनेरेटिभ एआई, डाटा मोडलिङ र प्रम्प्ट इन्जिनियरिङ जस्ता अत्याधुनिक सीपहरू सिक्न पाउनेछन्।

कर्पोरेट इन्टर्नसिपमा एलटीआईसीको प्रत्यक्ष प्रोजेक्टहरूमा काम गर्दै विद्यार्थीहरूले कलेज पढ्दापढ्दै वास्तविक कर्पोरेट अनुभव हासिल गर्नेछन्।

बजारको मागअनुसार वेस्टर्न मेगा कलेजको प्राज्ञिक अभ्यासलाई परिमार्जन गर्दै दक्ष स्नातकहरूलाई स्थानीय तथा राष्ट्रिय स्तरका सूचना प्रविधि कम्पनीहरूमा रोजगारीको सिधा अवसर प्रदान गरिनेछ।

यो नवनिर्मित अनुसन्धान तथा विकास केन्द्रले लुम्बिनी प्रदेशको कृषि, प्रशासनिक र आर्थिक क्षेत्रलाई डिजिटलाइज गर्न र स्थानीय समस्याको एआई मार्फत समाधान खोज्न विद्यार्थी र प्राध्यापकहरूलाई अनुसन्धानको वातावरण प्रदान गर्ने उद्देश्य लिएको छ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार  १७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।