काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा चालक तथा यात्रुको सुरक्षा सुदृढ बनाउने उद्देश्यले ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक गरेको छ।
मोबाइलमार्फत सहज रूपमा अध्ययन गर्न सकिने यस संरचित तालिम कार्यक्रममार्फत ड्राइभर पार्टनरलाई सुरक्षित सवारी सञ्चालनका लागि आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उक्त कोर्स सञ्चालनमा आइसकेको छ भने धेरै चालकहरूले तालिम पूरा गरिसकेका छन्। आगामी दिनमा नेपालभर रहेका एक लाखभन्दा बढी इनड्राइभ चालकसम्म यो कार्यक्रम विस्तार गर्ने योजना रहेको छ।
ड्राइभर पार्टनरहरूको व्यस्ततालाई ध्यानमा राख्दै करिब २० मिनेटमै पूरा गर्न सकिने गरी कोर्स तयार गरिएको कम्पनीले जनाएको छ।
कोर्सलाई तीन मुख्य मोड्युलमा विभाजन गरिएको छ। पहिलो मोड्युलमा प्लेटफर्मभित्र यात्रुसँग सुरक्षित, सम्मानजनक तथा व्यावसायिक व्यवहार कायम गर्ने विषय समेटिएको छ। दोस्रो मोड्युलमा रक्षात्मक ड्राइभिङ, ट्राफिक बढी हुने क्षेत्र तथा अपरिचित स्थानमा अपनाउनुपर्ने सावधानीलगायत सडक सुरक्षासम्बन्धी व्यवहारिक ज्ञान समावेश गरिएको छ। तेस्रो मोड्युलमा आपत्कालीन अवस्थाको व्यवस्थापन, घटना रिपोर्टिङ तथा इनड्राइभ एपमा उपलब्ध सुरक्षा सुविधाको प्रयोगबारे जानकारी दिइएको छ।
प्रत्येक मोड्युलमा पाँच मिनेटको शैक्षिक भिडियो र पाँचवटा मूल्याङ्कन प्रश्न समावेश गरिएको छ। कोर्स पूरा गरेको प्रमाणपत्र प्राप्त गर्न चालकले सबै मोड्युलका प्रश्नमा कम्तीमा ८० प्रतिशत सही उत्तर दिनुपर्ने व्यवस्था गरिएको छ। पहिलो प्रयासमा सफल नभए पनि पुनः परीक्षा दिन सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनिता जीमी राईले चालकहरूलाई एप प्रयोगका क्रममा मात्र नभई सडकमा आइपर्न सक्ने हरेक परिस्थितिमा आत्मविश्वासी र तयार बनाउन यो कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
उनले यो कोर्स नियम पालना गराउने उद्देश्यमा मात्र सीमित नभई चालक तथा यात्रु दुवैको सुरक्षा सुनिश्चित गर्न आवश्यक व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने पहल भएको उल्लेख गरिन् ।
कम्पनीका अनुसार उक्त कार्यक्रमले चालकमा सुरक्षा सचेतना अभिवृद्धि गर्नुका साथै जोखिम व्यवस्थापन क्षमता र आपत्कालीन अवस्थाको सामना गर्ने आत्मविश्वाससमेत बढाउने अपेक्षा गरिएको छ।










प्रतिक्रिया