यो साता सामान्य अंकले बढ्यो नेप्से, स्नो रिभर्सको सेयर मूल्यमा पाचैं दिन सकारात्मक सर्किट !


काठमाडौँ । यो साता सेयर बजार परिसुचक (नेप्से) मा उतारचढावको बिच सामान्य सुधार आएको छ । गत साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से २ अंकले घटेर २६४९.५१ अंकमा पुगेको नेप्से यो साताको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा ३.८९ अंकले बढेर २६५३.४० विन्दुमा कायम भएको हो ।

साताको सबै कारोबार दिनमा स्नो रिभर्स लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।
साताको ५ कारोबार दिनमा सोमबार, मंगलबार र शुक्रबार घटेको नेप्से परिसुचकमा बुधबार र बिहीबार भने सुधार आएको थियो ।

साताको पहिलो कारोबार दिन सोमबार नेप्से १६.५४ अंकले घटेर २६३२.९६ अंकमा पुगेको थियो । सोमबार ३५२ कम्पनीका ७६ लाख ९९ हजार २२७ कित्ता सेयरहरू ४४ हजार ९४२ पटक किनबेच हुँदा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँको कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा कायम हुँदा उक्त दिन ८७ लाख ३७ हजार ३९२ कित्ता सेयरहरू ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँमा किनबेच भएका थिए ।

अघिल्लो सातादेखि लगातार गिरावट कायम रहेको बजारमा सात कारोबार दिन पछि बुधबार सुधार आएको थियो । उक्त दिन नेप्से ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा कायम भएको थियो । बुधबार ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर ५६ हजार ८५० पटकमा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँमा किनबेच भएका थिए ।

बिहीबार पनि सेयर बजारमा सुधार आउँदा नेप्से ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा कायम भएको थियो । सो कारोबार दिन ८९ लाख ६४ हजार २२३ कित्ता सेयरहरू ४३ हजार १३१ पटकको कारोबारमा ४ अर्ब ११ करोड ७७ लाख ८६ हजार रुपैयाँमा किनबेच भएका थिए ।

यो साताको अन्तिम कारोबार दिन शुक्रबार बजारले ओरालो यात्रा लिँदा नेप्से ८.३० अंकले घटेर २६५३.४० विन्दुमा कायम भएकोे छ । यस दिन कुल ८५ लाख ८४ हजार ४०१ कित्ता सेयरहरू ४६ हजार २३४ पटकमा ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँमा किनबेच भएका छन् ।

साताभरमा कुन कम्पनीको सेयरमा देखियो वृद्धि ?

यो साता सेयर बजारमा उतारचढाव देखिए पनि साताभरको कारोबारमा स्नो रिभर्सको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । त्यस्तै यस्ता साता सेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा टक्सार पिखुवा खोला हाइड्रो, याम्बालिङ हाइड्रो, धौलागिरी लघुवित्त, कालङ्गा हाइड्रोपावर रहेका छन् ।

यता, सातामा सबैभन्दा धेरै गुमाउनेमा स्वाभिमान लघुवित्त, सोपान फर्मास्युटिकल्स, शिखर पावर र भुजुङ हाइड्रोपावर रहेका छन् ।

सातामा कुन कम्पनीको कति सेयर कारोबार भयो ?

यो साता सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको सेयर कारोबार भएको थियो । लक्ष्मी सनराइज बैंकको बुधबार २८ करोड ८४ लाख २७ हजार रुपैयाँको र बिहीबार ४१ करोड ३२ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

त्यसैगरी, सिद्धार्थ बैंकको १३ करोड ३९ लाख ४ हजार रुपैयाँको, टक्सार पिखुवाखोला हाइड्रोको ११ करोड ३२ लाख ७८ हजार रुपैयाँको, रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ५१ लाख ५ हजार रुपैयाँको र एग्रिकल्चर बण्डको ४३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

साताभरिमा कस्तो रह्यो बजार पूँजीकरण

गत साता कारोबार भएको अन्तिम दिन शुक्रबार बजार पूँजीकरण ४५ खर्ब ३४ अर्ब कायम भएको थियो । यो साताको अन्तिम कारोबार दिन २५ अर्बले बढेर ४५ खर्ब ५९ अर्ब कायम भएको छ । साताको पहिलो कारोबार दिन सोमबार कूल बजार पूँजीकरण ४५ खर्ब ९ अर्ब रुपैयाँ कायम भएको थियो । मंगलबार ४४ खर्ब ६७ अर्ब रुपैयाँ कायम हुँदा बुधबार कूल बजार पूँजीकरण ४५ खर्ब ४३ अर्ब लाख रुपैयाँ कायम भएको थियो । त्यस्तै, बिहीबार ४५ खर्ब ५८ अर्ब रुपैयाँ कायम भएको थियो भने शुक्रबार ४५ खर्ब ५९ अर्ब कायम भई यो साताको लागि कारोबार बन्द भएको छ ।

प्रकाशित मिति: २० असार २०८३, शनिबार  ११ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।