बालेनले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेका मानबहादुर कार्की को हुन् ?


काठमाडौँ। सरकारको नेतृत्व गरिरहेका बालेन्द्र शाहको अध्यक्षमा बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्च अदालतका रजिष्ट्रार मान बहादुर कार्कीलाई नियुक्तीका लागि सिफारिस गरेको छ ।

शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद् बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तहरूमा राजीव सुब्बा र गुरू वाग्लेलाई सिफारिस गरेको हो ।

बालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषदको अध्यक्षको बैठकमा विपक्षी दलका नेता, सभामुख, उप सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा प्रधानन्यायाधीश समेतको उपस्थितिमा कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएको हो ।

त्यसैगरी, आयुक्तहरुमा पूर्व डिआईजी डा. राजिव सुब्बा र निर्वाचन आयोग समेतमा काम गरेका नेपाल सरकार कानुन समुहका पूर्व कर्मचारी गुरु वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

कार्की यसअघि उच्च अदालत पाटनको रजिस्ट्रारसमेत थिए । त्यस्तै, उनी केही समय न्याय परिषद्‍मा समेत थिए । गत जेठमा प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दरपीठ गर्ने आदेशविरुद्धको निवेदन दर्ता गर्न तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश पालना नगरेको भन्दै मुख्य रजिस्ट्रार विमल पौडेल र रजिस्ट्रार कार्की विवादमा मुछिएका थिए ।

संवैधानिक परिषद्ले वरिष्ठताका आधारमा सिफारिस गर्ने परम्परा तोडेर सर्वोच्चका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । परिषद्को उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले २५ वैशाखमा रिट पेस गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो ।

त्यसपछि सोही दिन वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता सिलवालले दरपीठविरुद्धको निवेदन दिएका थिए । त्यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि उक्त विवाद कामु प्रधानन्यायाधीश मल्लसमक्ष पुगेको थियो । त्यसपछि समय तोकेरै मल्लले रिट निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् ।

कामु प्रधानन्यायाधीश मल्लले यस्तो आदेश गरेलगत्तै रिट निवेदकहरू उक्त निवेदन लिएर मुख्य रजिस्ट्रार र मुद्दा दर्ताको जिम्मेवारी तोकिएका रजिस्ट्रार मानबहादुर कार्कीसमक्ष पुगे । मुख्य रजिस्ट्रार पौडेल आफ्नो मिटिङ भएको भनी सर्वोच्च अदालतबाट बाहिरिएका थिए । रजिस्ट्रार कार्की पनि केही समय अध्ययन हुने भएकाले पर्खिनुस् भन्दै बाहिरिएका थिए ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार  ०८ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।