काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि खुला बजार कारोबारलाई तीव्रता दिएको छ ।
मौद्रिक नीतिको वार्षिक समीक्षाअनुसार राष्ट्र बैंकले निक्षेप सङ्कलन बोलकबोल, स्थायी निक्षेप सुविधा र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत बजारबाट तरलता प्रशोचनलाई तीव्रता दिएको देखिएको हो ।
समीक्षा प्रतिवेदन अनुसार आर्थिक वर्षको पहिलो १० महिनामा निक्षेप सङ्कलन बोलकबोल ७१ पटक, स्थायी निक्षेप सुविधा ११७ पटक र एक वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र ९ पटक प्रयोग गरिएको छ ।
चालु आर्थिक वर्षको वैशाखसम्म निक्षेप सङ्कलन बोलकबोलमार्फत ७ खर्ब १६ अर्ब ७० करोड रुपैयाँ, स्थायी निक्षेप सुविधामार्फत १ खर्ब ११ अर्ब ९० करोड रुपैयाँ र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बराबरको तरलता प्रशोचनको बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले विभिन्न सयममा सार्वजनिक गरेको निक्षेप संकलन सुचना आर्थिक वर्षको अन्तिम चरणमा पनि खुला बजार कारोबारलाई तिव्रताका साथ नै अगाडी बढाएको देखिन्छ ।
जेठ र असार महिनाको अवधिमा मात्र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत करिब १ खर्ब ७६ अर्ब २० करोड रुपैयाँ बराबरको रकम प्रशोचनका लागि बजारमा ल्याइएको थियो । यस अवधिमा १९ दिनदेखि ६६ दिन अवधिसम्मका निक्षेप सङ्कलन बोलकबोल पनि नियमित रूपमा सञ्चालन गरिएको थियो ।
वार्षिक समीक्षा अनुसार चालु आर्थिक वर्षमा विदेशी विनिमय बजारबाट अमेरिकी डलरको खुद खरिद मार्फत ९ खर्ब ४६ अर्ब २६ करोड रुपैयाँ बराबरको तरलता बैंकिङ प्रणालीमा प्रवाह भएको केन्द्रिय बैंकले जनाएको छ । यसरी प्रणालीमा तरलता बढेपछि त्यसको व्यवस्थापनका लागि खुला बजार कारोबार सञ्चालन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले तरलता परिचालन गर्नको लागि ब्याजदर करिडोरलाई पनि थप साँघुरो बनाएको छ । वार्षिक मौद्रिक नीतिमार्फत स्थायी तरलता सुविधाको ब्याजदर ६ प्रतिशत, स्थायी निक्षेप सुविधाको ब्याजदर २.७५ प्रतिशत र नीतिगत दर ४.५० प्रतिशत निर्धारण गरिएको केन्द्रिय बैंकले जनाएको छ । पहिलो समीक्षापछि स्थायी तरलता सुविधाको ब्याजदर ५.७५ प्रतिशत र नीतिगत दर ४.२५ प्रतिशतमा झारिएको थियो भने स्थायी निक्षेप सुविधाको ब्याजदर २.७५ प्रतिशतमै कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
बजारमा तरलता अधिक रहेकाले अल्पकालीन ब्याजदरहरू ब्याजदर करिडोरको तल्लो सीमाको हाराहारीमा राखिएको समिक्षा प्रतिवेदनमा भनिएको छ । वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
तरलता बढी भएपछि निक्षेप र कर्जाको ब्याजदर पनि घट्दो क्रममा रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ । वैशाखसम्म वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर ३.३५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.७३ प्रतिशत रहेको छ । विकास बैंकहरूको निक्षेप र कर्जा ब्याजदर क्रमशः ३.७० प्रतिशत र ७.८७ प्रतिशत तथा वित्त कम्पनीहरूको निक्षेप र कर्जा ब्याजदर क्रमशः ४.५९ प्रतिशत र ९.१४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सञ्चालन लक्ष्यका रूपमा अन्तरबैंक ब्याजदरलाई नीतिगत दरको हाराहारीमा राख्ने व्यवस्था गरेको भए पनि अधिक तरलताका कारण बजार ब्याजदर अझै ब्याजदर करिडोरको तल्लो सीमामै रहेको समीक्षा प्रतिवेदनले देखाएको छ ।










प्रतिक्रिया