काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाका ६ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ।
बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको यस कार्यक्रमको उद्देश्य ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्द्धन गर्नु, विद्यार्थीहरूको डिजिटल शिक्षामा पहुँच विस्तार गर्नु तथा गुणस्तरीय शिक्षालाई थप सुदृढ बनाउनु रहेको बैंकले जनाएको छ।
सहयोग प्राप्त गर्ने विद्यालयहरूमा श्री मानाकोट माध्यमिक विद्यालय गौमुल–५, श्री जनज्योति माध्यमिक विद्यालय गौमुल–२, श्री अम्लिश माध्यमिक विद्यालय गौमुल–१, श्री फूलपाता माध्यमिक विद्यालय गौमुल–२, श्री किर्तिचौर माध्यमिक विद्यालय गौमुल–६ र श्री बालविकास माध्यमिक विद्यालय गौमुल–३ रहेका छन्।
भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको क्षेत्रमा स्मार्ट टेलिभिजनको प्रयोगले शिक्षण–सिकाइलाई थप प्रभावकारी, प्रविधिमैत्री र आकर्षक बनाउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ। यसबाट विद्यार्थीहरूले डिजिटल सामग्री तथा श्रव्य–दृश्य माध्यममार्फत आधुनिक शिक्षासँग जोडिने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।
कुमारी बैंकले शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार भएको विश्वास गर्दै ग्रामीण र शहरी क्षेत्रबीचको शैक्षिक अवसर तथा स्रोत–साधनको असमानता न्यूनीकरण गर्न यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर २८६ शाखा, ४१ विस्तार काउन्टर, ३०४ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजको दिगो विकासमा योगदान पुर्याउने प्रतिबद्धता बैंकले जनाएको छ।










प्रतिक्रिया