४२औँ वार्षिकोत्सवमा नबिल बैंकको ‘बैंकिङ एण्ड बियोन्ड’ रणनीति, एआईमा जोड


काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त बनाउने तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित बैंकिङ सेवाको नेतृत्व गर्ने प्रतिबद्धता जनाएको छ।

वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विश्वास र नवप्रवर्तन नै नबिल बैंकको मुख्य शक्ति भएको उल्लेख गर्दै एआईमार्फत ग्राहकलाई अझ छिटो, सुरक्षित र व्यक्तिगत बैंकिङ सेवा प्रदान गरिने बताए। बैंकले डिजिटल बैंकिङ प्लेटफर्म ‘एनबैंक’लाई थप प्रविधिमैत्री बनाउँदै वित्तीय सेवामा नवीनता विस्तार गर्ने जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ४२ वर्षको यात्रामा साथ दिने ग्राहक, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै नबिल बैंक भविष्यका लागि तयार, विश्वासिलो र नवप्रवर्तनमा आधारित बैंकका रूपमा अघि बढ्ने बताए।

बैंकका अनुसार हाल कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड, लघु, घरेलु, साना तथा मझौला उद्योग (एमएसएमई) क्षेत्रमा ४५ अर्ब ९२ करोड तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी रहेको छ।

नबिल बैंकले हाल देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टरमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म विभिन्न ग्राहक–केन्द्रित योजना सञ्चालन गर्ने भएको छ। यसअन्तर्गत पुनःनिर्माण घर कर्जा, लकर सुविधा, क्रेडिट तथा डेबिट कार्ड र इलेक्ट्रोनिक पेमेन्ट गेटवे सेवामा विशेष छुट प्रदान गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार  १५ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।