उतारचढावबीच दोहोरो अंकले बढ्यो नेप्से, बजार पुँजीकरणमा करिब २४ अर्ब रुपैयाँको वृद्धि


काठमाडौँ। साताको तेस्राे कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दिनभर उतारचढावका बीच अन्ततः दोहोरो अंकले बढेर बन्द भएको छ। कारोबारको सुरुदेखि नै बजारमा खरिद र बिक्री दबाबबीच प्रतिस्पर्धा देखिए पनि अन्तिम समयमा खरिदकर्ता सक्रिय बन्दा नेप्से १४ अंकले उकालो लाग्दै २५९०.२९ विन्दुमा पुगेको हो।

यद्यपि परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा घटेको छ। बुधबार ३६२ कम्पनीका ८४ लाख ७३ हजार १६ कित्ता सेयर ३८ हजार ८३६ पटक किनबेच हुँदा कुल ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार भने ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो।

यसअघि मंगलबार नेप्से ६.११ अंकले बढेर २,५७६.२९ विन्दुमा बन्द भएको थियो। लगातार दोस्रो दिन परिसूचक बढे पनि कारोबार रकममा आएको गिरावटले लगानीकर्ताहरू अझै सतर्क रहेको संकेत गरेको छ।

बुधबार अधिकांश उपसूचक हरियालीमा देखिए। लगानी समूहको उपसूचक भने ०.४४ प्रतिशतले घटेको छ भने म्युचुअल फण्ड समूह स्थिर रह्यो। बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, उत्पादन तथा प्रशोधन, व्यापार, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त लगायतका बाँकि सबै उपसूचकमा वृद्धि देखिएको छ।

कर्पोरेट विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३ प्रतिशतले बढेकाे छ। त्यस्तै नारायणी विकास बैंकको सेयर ८.४० प्रतिशत, सागर डिस्टिलरी ६.१५ प्रतिशत, १० प्रतिशत सानिमा बैंक डिबेन्चर ६.४१ प्रतिशत तथा थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ६.२१ प्रतिशतले वृद्धि भएको छ।

यता, उपकार लघुवित्तको सेयर मूल्य ७.३२ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बनेकाे छ। त्यसैगरी एनआइबीएल स्टेबल फण्डको इकाई मूल्य ६.२८ प्रतिशत, एनआइसी एसिया सेलेक्ट फण्डको इकाई मूल्य ३.७४ प्रतिशत तथा आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा १० प्रतिशत हिमालयन बैंक २०८३ डिबेन्चर सबैभन्दा अगाडि रहेकाे छ। उक्त डिबेन्चरको ४४ करोड १० लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएको इकाई संख्याका आधारमा पनि यही डिबेन्चरका ४ लाख २० हजार कित्ता किनबेच भई पहिलो स्थानमा रहेकाे छ। कारोबार संख्याका आधारमा भने सानिगाड हाइड्रो सबैभन्दा शिर्षस्थानमा रहेकाे छ। यसको सेयर २ हजार ४४७ पटक कारोबार भएको छ ।

बुधबारको कारोबारसँगै कुल बजार पुँजीकरण पनि बढेको छ। अघिल्लो कारोबार दिन ४४ खर्ब २६ अर्ब ५९ करोड ७३ लाख रुपैयाँ रहेको बजार पुँजीकरण बुधबार बढेर ४४ खर्ब ५० अर्ब ६५ करोड ४६ लाख रुपैयाँ पुगेको छ। यससँगै एकै दिनमा बजार पुँजीकरणमा करिब २४ अर्ब रुपैयाँको वृद्धि भएको छ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।