तीस करोड २८ लाख राजस्व छली गर्ने दुई फर्मका संचालक विरुद्ध मुद्दा दर्ता

0
Shares

झुट्टा तथा नक्कली मू.अ.कर प्रयोग गरी राजस्व छली गर्ने न्यु राहुल मोवाइल सेन्टर समेतका दुई वटा फर्महरु विरुद्ध ३० करोड २८ लाख दुई हजार ५ सय ५३ रुपैयाँ विगो कायम गरी मुद्दा दर्ता भएको छ ।

राजश्व अनुसन्धान विभागले उक्त फर्महरुका कारोवार संचालक/प्रोप्राईटर तथा बैक खाता संचालकहरुलाई जरिवाना र कैद मागदावी लिई चैत २५ र २६ गते उच्च अदालत जनकपुर,अस्थायी इजलास विरगंज र उच्च अदालत पाटन, हेटौडा इजलासमा मुद्दा दर्ता गराएको हो ।

झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी राजस्व छली गर्ने मकवानपुर जिल्ला, हेटौडा उपमहानगरपालिका वडा नं. ६ बस्ने न्यु राहुल मोवाईल सेन्टर हेटौडा प्रोप्राईटर काजल केशरी समेतबाट १२ करोड ३५ लाख २५ हजार २२ रुपैया विगो असुल गरी जरिवाना र कैद मागदावी उच्च अदालत पाटन, हेटौडा इजलासमा मुद्दा दर्ता गराएको हो ।

त्यस्तै विरगंज महानगरपालिका वडा नं. १२ रानिघाट भएका ब्याहुत ट्रेडर्स विरगंजका प्रोप्राइटर अनिल कुमार कलवारबाट १७ करोड ९२ लाख ७७ हजार ५५१ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई उच्च अदालत जनकपुर,अस्थायी इजलास विरगंजमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ वैशाख २०७८, बिहीबार  १४ : ५० बजे