कामना सेवा विकास बैंकको नाफामा ३३ प्रतिशतको वृद्धि



काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा कामना सेवा विकास बैंकको नाफा ३३ प्रतिशत भन्दा बढीले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ६६ करोड ९७ लाख ५१ हजार ३२३ रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ८९ करोड ४१ लाख ७८ हजार १२६ रुपैयाँ नाफा कमाएको हो ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कूल पूँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ बराबर कायम भएको छ । जुन अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिको कुल ब्याज आम्दानीमा पनि उल्लेख्य सुधार भएको छ । बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब ४१ करोड ८ लाख २ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३१ करोड ८४ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।

यस्तै बैंकको प्रतिसेयर साधारण आम्दानी २०.८४ रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षमा १९.०८ रुपैयाँ रहेको थियो ।

बैंकको तरलता अनुपात २५.१२ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७१.०१ रुपैयाँ रहेको छ । बैंकको समग्र वित्तीय सुचक राम्रो भएपनि खराब कर्जामा भने वृद्धि भएको छ । यो अवधिमा खराब कर्जा बढेर ३.७७ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जा ३.४९ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार  १० : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।