काठमाडौँ । सरकारले सरकारी कर्मचारीको चाडपर्व बिदा कटौती गर्ने भएको छ । सरकारले हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिइरहेको अवस्थामा साविकका अन्य सार्वजनिक बिदाहरू कटौती गर्ने तयारी गरेको हो ।
शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपछि साविकमा रहेका अन्य सार्वजनिक बिदाहरूलाई पुनरावलोकन गर्न आवश्यक देखाएकाले गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी सार्वजनिक बिदा पुनरावलोकन कार्यदल गठन गर्ने र उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने निर्णय भएको हो ।
यसअनुसार सरकारले अहिलेसम्म दिइँदै आएको इन्द्रजात्रा, गाइजात्रा, रामनवमी, बुद्ध जयन्ती, शिवरात्री, ल्होसार, उधौली उभौली पर्व जस्ता चाडपर्वमा दिइने बिदाहरू कटौती गर्ने तयारी गरेको हो । उक्त समितिले चाडपर्वहरू तोकेर बिदा कटौती गर्न सिफारिस गरेपछि त्यस्तो चाडपर्वमा दिइने बिदाहरू कटौती हुनेछ ।
मध्यपूर्वमा चर्किएको अमेरिका–इरान युद्धका कारण इन्धनमा संकट चुलिएपछि सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । त्यसअनुसार शनिबारका साथसाथै आइतबार पनि सार्वजनिक बिदा दिन थालिएको थियो ।










प्रतिक्रिया