एन आई सी एशिया क्यापिटलको नयाँ योजना, निःशुल्क डिम्याट र मेरो सेयर सेवामा विशेष छुट


काठमाडौँ । एन आई सी एशिया क्यापिटलले आर्थिक वर्ष २०८३/८४ का लागि निक्षेप सदस्य सेवाअन्तर्गत निःशुल्क डिम्याट तथा मेरो सेयर खाता सेवासहित विभिन्न विशेष छुट योजना सार्वजनिक गरेको छ।

क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई निरन्तरता दिँदै आफ्ना अधिकांश निक्षेप सदस्य सेवालाई डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको जनाएको छ। साथै, एन आई सी एशिया बैंकका देशभरका शाखाबाट पनि डिम्याट र मेरो सेयर खाता खोल्ने, नवीकरण गर्ने लगायतका सेवा लिन सकिने व्यवस्था गरिएको छ।

नयाँ योजनाअन्तर्गत ग्राहकले निःशुल्क डिम्याट खाता खोल्न तथा पहिलो वर्षको नवीकरण शुल्कमा पूर्ण छुट पाउनेछन्। विद्यार्थीका लागि सञ्चालन गरिएको ‘एन आई सी एशिया विद्यार्थी डिम्याट सेवा’ अन्तर्गत निःशुल्क डिम्याट र मेरो सेयर खाता तथा पहिलो वर्षको नवीकरण शुल्कमा छुटको व्यवस्था गरिएको छ।

यसैगरी, ग्राहकले एकमुष्ट शुल्क तिरेर आजीवन डिम्याट तथा मेरो सेयर खाता नवीकरण गर्न सक्ने विशेष योजना पनि ल्याइएको क्यापिटलले जनाएको छ। उक्त सुविधा २०८३ साल साउन मसान्तसम्म लागू रहनेछ।

क्यापिटलले ‘लाइनमा होइन, अनलाइनमा’ भन्ने नारासहित आफ्नो वेबसाइटमार्फत निःशुल्क डिम्याट र मेरो सेयर खाता खोल्न सकिने व्यवस्था मिलाएको जनाएको छ। साथै, आगामी दिनमा पनि प्रविधिमैत्री, सहज र ग्राहकमैत्री सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  १० : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।