निफ्राको नाफा २० प्रतिशतले घट्यो


काठमाडौँ । गत आर्थिक वर्षमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफामा करिब २० प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २३ करोड ४० लाख ५ हजार नाफा कमाएको बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २० प्रतिशतले कम हो ।

गत आर्थिक वर्षमा बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९० करोड ८४ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्ष १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी बैंकको कुल सञ्चालन आम्दानी पनि १ अर्ब ९२ करोड १९ लाख रुपैयाँबाट घटेर १ अर्ब ५० करोड ४७ लाख रुपैयाँमा झरेको छ ।

यद्यपि, गत आर्थिक वर्षमा बैंकको कर्जा लगानीमा भने सुधार देखिएको छ । अघिल्लो वर्ष २४ अर्ब ९४ करोड रुपैयाँ रहेको कर्जा तथा सापटी गत वर्ष बढेर ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । निक्षेप पनि ७ अर्ब ६९ करोड रुपैयाँबाट बढेर ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । कुल सम्पत्ति ४१ अर्ब ५५ करोड रुपैयाँबाट बढेर ४१ अर्ब ८४ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

नाफा घटेसँगै बैंकको प्रति सेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ५.७१ रुपैयाँ रहेको प्रति सेयर आम्दानी यस वर्ष ४.५७ रुपैयाँमा झरेको छ । प्रति सेयर खुद सम्पत्ति १३०.२२ पैसाबाट घटेर १२७.७१ रुपैयाँ कायम भएको छ ।

बैंकको खराब कर्जा भने शून्य प्रतिशतमै कायम रहेको छ, जुन बैंकका लागि सकारात्मक पक्ष रहेको उल्लेख गरिएको छ ।
बैंकले ऊर्जा, पूर्वाधार र औद्योगिक क्षेत्रका आयोजनामा लगानी विस्तारलाई निरन्तरता दिएको तथा आगामी दिनमा पनि यस्ता क्षेत्रमा लगानी बढाउने योजना रहेको जनाएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  १३ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।