मितेरी डेभलपमेन्ट बैंकको नाफा ८.८१ प्रतिशतले बढ्यो


काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकको नाफामा सामान्य वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.८१ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १२ करोड ९७ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३० करोड ७४ लाख २९ हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन मुनाफा २० करोड १७ लाख ४१ हजार रुपैयाँ रहेको छ । बैंकले आयकरबापत १९ करोड २९ लाख रुपैयाँ व्यवस्था गरेको छ ।

यस्तै बैंकको चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ पुगेको छ । जगेडा कोष ३७ करोड ८४ लाख रुपैयाँ र सञ्चित मुनाफा १५ करोड ४८ लाख ८७ हजार रुपैयाँ पुगेको बैंकको सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

यस अवधिसम्म बैंकले ८ अर्ब ८३ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६ अर्ब ६९ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कुल सम्पत्ति १ अर्ब ७ करोड २५ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ११.६० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४३.८४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.५५ गुणा रहेको छ । बैंकको निष्क्रिय कर्जा (एनपीएल) ४.२६ प्रतिशत पुग्दा आधार दर ५.९८ प्रतिशत तथा ब्याजदर अन्तर ४.३७ प्रतिशत कायम रहेको छ ।

सार्वजनिक गरिएको विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १५ करोड ४८ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  १५ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।