काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन खुला गरेको छ ।
अर्थ मन्त्रालयले मंगलवार एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।
इच्छुक र योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आफ्नो आवेदन दिन सक्ने छन् । नेप्सेको प्रमुख कार्यकारी बन्नका लागि उम्मेदवारको शैक्षिक तथा पेसागत पृष्ठभूमि उच्च हुनुपर्ने प्रावधान राखिएको छ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी (ऋब्) वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। अनुभवको हकमा, उम्मेदवारसँग पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा १५ वर्षको कार्य अनुभव हुनुपर्नेछ । जसमा कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव अनिवार्य गरिएको छ।
उमेर र अयोग्यताका सर्तहरू नेप्सेको कार्यकारी प्रमुखका लागि आवेदन दिने उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
गैर–नेपाली नागरिक, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबार, पुरातात्त्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएको व्यत्ति, प्रचलित कानुन बमोजिम कालो सूचीमा समावेश भई सो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको, कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको, मानसिक सन्तुलन ठीक नभएको व्यक्तिको आवेदन रद्ध हुने छ ।
प्राप्त भएका आवेदनहरू मध्येबाट छनोट समितिले उम्मेदवारको शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन र प्रस्तुतीकरणका आधारमा उपयुक्त व्यक्तिलाई सिफारिस गर्नेछ ।










प्रतिक्रिया