ईपीएस आवेदकको चाप बढेपछि राहदानी सेवा दुई सिफ्टमा, बिदाका दिन पनि खुला हुने


काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ।

दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेसँगै विभागले यस्तो निर्णय लिएको हो । विभागले बुधबार जारी गरेको सूचनाअनुसार साउन १४ गतेदेखि २२ गतेसम्म सेवा दुई सिफ्टमा सञ्चालन गरिनेछ ।

विभागका अनुसार साउन १४ गतेदेखि १८ गतेसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। दोस्रो सिफ्ट भने दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन गरिनेछ।

पछिल्लो एक सातादेखि विशेषगरी दक्षिण कोरियाको ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।

त्यसैगरी, शनिबार र आइतबारलगायत सार्वजनिक बिदाका दिनसमेत विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा सञ्चालन गर्ने जनाएको छ। सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा प्रवाह गरिने विभागको सूचनामा उल्लेख छ।

दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढाउन राहदानी अनिवार्य हुने भएकाले पछिल्लो एक सातादेखि राहदानी सेवामा सेवाग्राहीको चाप बढेको विभागले जनाएको छ। ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेसँगै राहदानी बनाउन आउनेको चाप बढेको विभागले जनाएको छ ।

नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउन विभाग पूर्ण रूपमा प्रतिबद्ध रहेको सूचनामार्फत जनाएको छ । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्दै समयमै सेवा उपलब्ध गराउने उद्देश्यले अतिरिक्त समय र दुई सिफ्टमा सेवा सञ्चालनको व्यवस्था गरिएको विभागले जनाएको छ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  १८ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।