काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११ लाख एफटीटीएच ग्राहकको ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो उपलब्धिसँगै कम्पनीले नेपालको एफटीटीएच बजारमा करिब ३५ प्रतिशत बजार हिस्सा कायम गर्दै देशको डिजिटल रूपान्तरण यात्रामा अर्को महत्त्वपूर्ण कोसेढुंगा स्थापित गरेको छ ।
सन् १९९५ मा इमेल सेवाबाट आफ्नो यात्रा प्रारम्भ गरेको वर्ल्डलिंकले विगत तीन दशकभन्दा लामो अवधिमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकाससँगै निरन्तर आफूलाई परिष्कृत गर्दै आएको छ । डायल–अप इन्टरनेट, केबल इन्टरनेट र वायरलेस इन्टरनेट सेवादेखि लिएर अत्याधुनिक एफटीटीएच प्रविधिसम्मको यात्रामा कम्पनीले नेपाली उपभोक्तालाई विश्वस्तरीय र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।
सन् २०१५ मा एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि कम्पनीले देशभर उच्च गतिको इन्टरनेट पहुँच विस्तारलाई तीव्रता दिएको थियो ।
ग्राहकलाई अझ उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने उद्देश्यका साथ वर्ल्डलिंकले हालै वाईफाई–६ प्रविधि सफलतापूर्वक सञ्चालनमा ल्याएको छ । यो प्रविधिले उच्च गतिको इन्टरनेट, फराकिलो कभरेज, न्यून विलम्बता (लो लेटेन्सी) तथा एकैसाथ धेरै उपकरण जडान हुँदा समेत प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्ने भएकाले आधुनिक डिजिटल जीवनशैलीका निम्ति महत्त्वपूर्ण मानिएको छ ।
हाल वर्ल्डलिंकको सेवा नेपालका ७४ जिल्लामा विस्तार भइसकेको छ । हिमाली भेगदेखि तराईसम्म तथा दुर्गम जुम्लादेखि विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविरसम्म उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा पुर्याएर कम्पनीले डिजिटल पहुँच विस्तार तथा डिजिटल समावेशीकरणमा उल्लेखनीय योगदान पुर्याइरहेको छ ।
३१ वर्षभन्दा बढीको सेवायात्रामा वर्ल्डलिंकले गुणस्तरीय सेवा, नवीनतम प्रविधि, उत्कृष्ट ग्राहक अनुभव तथा सुदृढ नेटवर्क पूर्वाधारमार्फत लाखौँ नेपालीको विश्वास जित्न सफल भएको छ । कम्पनीका निम्ति ११ लाख ग्राहकको यो उपलब्धि एक व्यावसायिक माइलस्टोन मात्र नभई ग्राहक, कर्मचारी, साझेदार तथा सम्पूर्ण सरोकारवालाबाट प्राप्त विश्वास, साथ र सहकार्यको प्रतिफल पनि भएको जनाइएको छ ।
यो ऐतिहासिक उपलब्धिका अवसरमा वर्ल्डलिंकले आफ्ना सम्पूर्ण ग्राहक, कर्मचारी, व्यावसायिक साझेदार तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
विश्वस्तरीय डिजिटल सेवामा पहुँच सुनिश्चित गर्ने आफ्नो दीर्घकालीन लक्ष्यप्रति वर्ल्डलिंक निरन्तर प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।










प्रतिक्रिया