काठमाडौँ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ)ले एपीआइएनआइसी फाउन्डेसनको सहयोगमा बागलुङ जिल्लामा सञ्चालित ‘डिजिटल विभाजन न्यूनीकरण ः सूचना तथा सञ्चार प्रविधि (आइसिटी)मार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण’ नामको परियोजनाको दीर्घकालीन प्रभाव अवलोकन गर्न पुगेका प्रतिनिधिहरूलाई स्वागत गरेको छ।
१४ डिसेम्बर २०२४ मा सफलतापूर्वक सम्पन्न भएको यो पहलले बागलुङको काठेखोला गाउँपालिका २ भीमापोखरामा रहेका दुई ग्रामीण विद्यालयमा डिजिटल शिक्षामा दिगो पहुँच प्रदान गर्दै पठनपाठनमा निरन्तर रूपान्तरण ल्याइरहेको छ।
नेपालको पहाडी भू–भागमा रहेका यी विद्यालयहरूले विषम भूगोल र भौगोलिक एकान्तबासका कारण परम्परागत रूपमा गुणस्तरीय शैक्षिक सामग्री र डिजिटल पूर्वाधारमा पहुँच सीमित रहेका समुदायहरूलाई सेवा पुर्याइरहेका छन्।
यस्ता चुनौतीपूर्ण परिस्थितिहरूले गर्दा भरपर्दो इन्टरनेट जडान र सूचना प्रविधिमा आधारित सिकाइ सुविधाहरूको उपलब्धता विद्यार्थी, शिक्षक र समग्र समुदायका लागि विशेष रूपमा महत्वपूर्ण बनेको छ। यस पहलबाट हाल जनप्रिय आधारभूत विद्यालय र भीमदरबार आधारभूत विद्यालयका १०० जना विद्यार्थी र १९ जना शिक्षक लाभान्वित भइरहेका छन्।
कक्षाकोठामा आधारित सिकाइलाई सहयोग गर्नुका साथै परियोजनाले बाह्य वायरलेस एक्सेस पोइन्टहरूमार्फत इन्टरनेट पहुँचलाई विद्यालयबाहिर पनि विस्तार गरेको छ, जसले गर्दा स्थानीय समुदायका सदस्यहरूलाई डिजिटल स्रोत र अनलाइन सेवाहरूमा पहुँच प्राप्त भएको छ। परियोजनाले कम्प्युटर, स्मार्ट सिकाइ उपकरण र भरपर्दो इन्टरनेट जडानसहितका आधुनिक हाइ(टेक कक्षाकोठाहरू स्थापना गरेको छ। जसले डिजिटल साक्षरतालाई सुदृढ बनाउन, कक्षाकोठामा सहभागिता बढाउन र प्रविधिमा आधारित शिक्षाका लागि समावेशी अवसरहरू सिर्जना गर्न सहयोग पुर्याएको छ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले दुवै विद्यालयको अवलोकन गर्दै सूचना तथा सञ्चार प्रविधि (आइसिटी)का सुविधाहरूले दैनिक पठनपाठनमा कसरी निरन्तर सहयोग पुर्याइरहेका छन् भन्ने कुराको प्रत्यक्ष निरीक्षण गरेको छ। प्रतिनिधि मण्डलका सदस्यहरू कक्षाकोठाहरूको अवलोकन गर्नुका साथै शिक्षक, विद्यार्थी, अभिभावक र समुदायका सदस्यहरूसँग अन्तरक्रिया गरेका छन्। उनीहरूले शैक्षिक क्रियाकलापमा डिजिटल प्रविधिको निरन्तर प्रयोगको अवलोकन पनि गरे।
उक्त भ्रमणले आइसिटी पूर्वाधारहरू पूर्ण रूपमा सञ्चालनमा रहेको र राम्रोसँग संरक्षण गरिएको तथ्य उजागर गरेको छ। शिक्षकहरूले डिजिटल उपकरणहरूले पाठहरूलाई अझ बढी अन्तरक्रियात्मक र आकर्षक बनाएको अनुभव साझा गरेका छन् भने विद्यार्थीहरूले आफ्ना नियमित कक्षागत क्रियाकलापको अंगको रूपमा कम्प्युटर र इन्टरनेट स्रोतहरू प्रयोग गर्ने आत्मविश्वास देखाएका छन्। समुदायका सदस्यहरूले पनि विद्यालय परिसर बाहिरसम्म सिकाइ र अनलाइन जानकारी प्राप्त गर्ने अवसरहरू विस्तार गरेको भन्दै परियोजनाको आउटडोर वायरलेस जडानमार्फत सम्भव भएको सुधारिएको डिजिटल पहुँचको प्रशंसा गरे।
भ्रमणकै क्रममा श्री जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई ५० वटा स्कुल ब्याग वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिले आफ्नो समुदायमा शिक्षाको सुधारका लागि निरन्तर साझेदारी र प्रतिबद्धताको कदर गर्दै प्रशंसाको चिनो प्रदान गरेको छ।
उक्त भ्रमणले परियोजनाको दीर्घकालीन प्रभाव र दिगोपनलाई पुनर्पुष्टि गरेको छ। परियोजना सम्पन्न भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै विद्यालयले यसै पहलमार्फत स्थापित आइसिटी कक्षाकोठाहरूको प्रभावकारी रूपमा प्रयोग गरिरहेका छन्।
यसले भरपर्दो इन्टरनेट जडान, गुणस्तरीय डिजिटल पूर्वाधार र बलियो सामुदायिक स्वामित्वले नेपालका भौगोलिक रूपमा विकट क्षेत्रहरूमा शैक्षिक अवसरहरूलाई उल्लेख्य रूपमा सुधार गर्न सक्छ भन्ने कुरा देखाएको छ। नेपाल इन्टरनेट फाउन्डेसन एपिएनआइसी फाउन्डेसनलाई उसको निरन्तर साझेदारी र अटल सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछ।
यो पहलको सफलताले सहकार्यत्मक प्रयासहरूले कसरी डिजिटल विभाजनलाई घटाउन, ग्रामीण शिक्षा प्रणालीलाई सुदृढ बनाउन र विकट तथा चुनौतीपूर्ण भूभागमा बसोबास गर्ने बालबालिकाहरूलाई गुणस्तरीय डिजिटल सिकाइका अवसरहरूमा समान पहुँच सुनिश्चित गर्न सक्छ भन्ने कुरा प्रदर्शन गरेको छ।
एपिएनआइसी फाउन्डेसन एसिया प्रशान्त क्षेत्रको एक अग्रणी इन्टरनेट तथा डिजिटल विकास संस्था हो। यस फाउन्डेसनले सामाजिक(आर्थिक रूपान्तरण र समता प्रवद्र्धन गर्न एसिया प्रशान्त क्षेत्रमा डिजिटल विकासका क्षेत्रमा लगानी र स्रोतसाधन परिचालन गर्छ।
यो परियोजना फाउन्डेसनको आइएसआइएफ एसिया अनुदान कार्यक्रमद्वारा समर्थित छ। आइएसआइएफ एसिया एपिएनआइसी फाउन्डेसनको प्रमुख अनुदान कार्यक्रम हो। जसले सम्पूर्ण एसिया प्रशान्त क्षेत्रमा सामाजिक(आर्थिक र मानव विकासमा सुधार ल्याउन इन्टरनेट पहुँच, अर्थपूर्ण उपयोगिता र इन्टरनेट प्रविधिको प्रयोगलाई विस्तार गर्ने स्थानीय रूपमा सान्दर्भिक तथा विस्तारयोग्य समाधानहरूमा वित्तीय सहयोग प्रदान गर्दछ।
यसले व्यावहारिक नवप्रवर्तन, सुदृढ इन्टरनेट पूर्वाधार र उत्थानशीलता, विस्तारित प्राविधिक क्षमता, सञ्चालन अनुसन्धान (अपरेसनल रिसर्च), समावेशी पहुँच, र खुला तथा अन्तर सञ्चालन योग्य डिजिटल समाधानहरू प्रदान गर्ने विविध संस्थाहरूलाई सहयोग गर्दछ।










प्रतिक्रिया