+२ उत्तीर्ण विद्यार्थीका लागि पिसिपीएस कलेजले ‘ह्याक फर इम्प्याक्ट’ ह्याकाथन आयोजना गर्ने


काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (+२) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै ललितपुरस्थित पिसिपीएस कलेजले ‘ह्याक फर इम्प्याक्ट’ नामक तीनदिने राष्ट्रिय ह्याकाथन आयोजना गर्ने भएको छ। ‘नेब रिजल्ट एन्ड न्युज’ को सहकार्यमा आगामी श्रावण २० देखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशभरका युवा डेभलपर, डिजाइनर, उद्यमी तथा नवप्रवर्तकहरू सहभागी हुने आयोजकले जनाएको छ।

कलेजका अनुसार विद्यार्थीहरूलाई कक्षाकोठाको सैद्धान्तिक सिकाइभन्दा बाहिर ल्याएर व्यावहारिक ज्ञान, नवप्रवर्तन, सहकार्य र उद्यमशीलतासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। प्रतियोगितामा सहभागीहरूले समाजका वास्तविक समस्या पहिचान गरी प्रविधिको प्रयोगबाट समाधानका उपायहरू विकास गर्नेछन्।

आयोजनबारे जानकारी दिँदै पिसिपीएस कलेजकी चिफ ग्रोथ अफिसर कृपा श्रेष्ठले यो कार्यक्रम प्रतिस्पर्धा मात्र नभई युवा प्रतिभाको क्षमता उजागर गर्ने साझा मञ्च भएको बताइन्।

‘ह्याक फर इम्प्याक्ट युवा प्रतिभाले आफ्नो क्षमता पहिचान गर्ने, सहकार्य गर्ने र समाजमा सकारात्मक प्रभाव पार्ने समाधान निर्माण गर्ने अवसर हो,’ श्रेष्ठले भनिन्, ‘मेन्टरशिप, नेटवर्किङ र व्यावहारिक सिकाइमार्फत हामी नेपालका भावी नवप्रवर्तक तथा उद्यमीहरूलाई प्रेरित गर्न चाहन्छौँ।’

तीनदिने कार्यक्रममा सूचना प्रविधि, स्टार्टअप र वित्तीय क्षेत्रका अग्रणी व्यक्तित्वहरूले मेन्टर तथा वक्ताका रूपमा सहभागिता जनाउनेछन्। मुख्य वक्ताका रूपमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घका कार्यवाहक अध्यक्ष तथा वान कभरका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारी, ‘खल्ती’ का पूर्व प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा वित्तीय विज्ञ एवं उद्यमी सञ्जोग कोइराला रहनेछन्। उनीहरूले प्रविधि, स्टार्टअप, नेतृत्व, नवप्रवर्तन र करियर विकाससम्बन्धी आफ्ना अनुभव सहभागीहरूसँग साट्नेछन्।

यसैगरी, नेपालका अग्रणी प्रविधि कम्पनीहरूमा कार्यरत सफ्टवेयर डेभलपर, युआई/युएक्स डिजाइनर, इन्जिनियर तथा प्रडक्ट म्यानेजरहरूले टोलीहरूलाई ३ दिनसम्म प्रत्यक्ष मेन्टरशिप प्रदान गर्नेछन्। मेन्टरहरूले आइडिया छनोट, प्राविधिक जटिलता समाधान, व्यावसायिक मोडल निर्माण र अन्तिम प्रस्तुति तयारीमा सहजीकरण गर्ने कलेजले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट ठहरिने पहिलो टोलीलाई नगद ५० हजार रुपैयाँका साथै ‘लक्जरी भिल्ला वेकेशन’ प्रदान गरिनेछ भने दोस्रो हुने टोलीले नगद २५ हजार रुपैयाँ र ‘लक्जरी भिल्ला वेकेशन’ प्राप्त गर्नेछन्। साथै, सबै सहभागीहरूलाई प्रमाणपत्र, नेटवर्किङ र उद्योग विशेषज्ञहरूसँग काम गर्ने अवसर मिल्नेछ।

कलेजका अनुसार प्राविधिक पृष्ठभूमि भएका विद्यार्थीका अतिरिक्त टेक्निकल राइटर, ब्लगर, फोटोग्राफर, भिडियोग्राफर र कन्टेन्ट क्रिएटरहरूले पनि प्रतिस्पर्धामा भाग लिन सक्नेछन्। व्यक्तिगत रूपमा, कार्यक्रमस्थलमै टोली बनाएर वा पूर्वगठित टोलीसहित सहभागी हुन सकिने र त्यसका लागि आयोजकको आधिकारिक अनलाइन फारममार्फत दर्ता प्रक्रिया खुला गरिएको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।