काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहको काठ बिक्रीबाट प्राप्त आम्दानीमा हिनामिना गरेको आरोपमा ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आज जारी गरेको विज्ञप्तिअनुसार आर्थिक वर्ष २०७२÷७३ देखि २०७६÷७७ सम्म काठ बिक्री तथा आपूर्तिबाट प्राप्त आम्दानीमध्ये झाडी सफाइ, अग्नि रेखा निर्माणमा अनियमितता भएको पाइएको छ ।
यस्तै, खरघाँस रोपण तथा वृक्षरोपण, वन हेरालुको तलब, भैँसी तथा बाख्रापालन, डढेलो नियन्त्रण, मौरीघारलगायत शीर्षकमा नक्कली बिल भरपाई तयार गरी रु ३९ लाख १२ हजार ५६० दशमलव ८४ हिनामिना गरिएको अनुसन्धानबाट खुलेको छ ।
आयोगका अनुसार आव २०७२÷७३ मा रु १६ लाख ४३ हजार ५८६, आव २०७३÷७४ मा रु पाँच लाख १३ हजार १७४, आव २०७४÷७५ मा रु १३ लाख ६५ हजार ८०० तथा आव २०७५÷७६ र २०७६÷७७ मा रु तीन लाख ९० हजार हिनामिना भएको देखिएको छ ।
उक्त रकम हिनामिनामा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष, सचिव र कोषाध्यक्षको मिलेमतो रहेको तथा झुठो विवरण तयार गरी लेखापरीक्षण प्रतिवेदनसमेत तयार गरिएको आयोगको आरोप छ ।
आयोगले तत्कालीन अध्यक्ष खिमबहादुर सावद, सचिव बनौली रोकाय र कोषाध्यक्ष जमानसिंह धामीविरुद्ध रु १६ लाख ४३ हजार ५८६ दशमलव ८४ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।
त्यसैगरी, तत्कालीन अध्यक्ष पदमसिंह सावद, सचिव पूर्णदेवी धामी र कोषाध्यक्ष रुद्रबहादुर बन्तोलाविरुद्ध रु २२ लाख ६८ हजार ९७४ बिगो तथा तत्कालीन अध्यक्ष हर्कबहादुर बुढा, सचिव तुल्सी दानी र कोषाध्यक्ष चक्रबहादुर सावदविरुद्ध रु तीन लाख ९० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
यस्तै, पाठक एण्ड एसोसियटसका रजिस्टर्ड लेखापरीक्षक डिल्लीराम पाठक तथा प्रेमबहादुर विसी एण्ड कम्पनीका रजिस्टर्ड लेखापरीक्षक प्रेमबहादुर विसीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गर्दै आज मुद्दा दायर गरेको जनाएको छ ।










प्रतिक्रिया