काठमाडौँ । नेपाली युवाहरूलाई प्राविधिक तथा व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित ‘एलजी सिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच काठमाडौँमा सुरु भएको छ। चौधरी फाउन्डेसन र एलजी इलेक्ट्रोनिक्सको संयुक्त पहलमा यो कार्यक्रम सञ्चालन हुँदै आएको हो।
सन् २०२४ मा सुरु भएको यस अभियानअन्तर्गत हालसम्म १६ वटा प्रशिक्षण ब्याचहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। पोलिटेक्निक, इलेक्ट्रिकल र मेकानिकल विधामा केन्द्रित यस तालिममार्फत हालसम्म ३३२ जना युवाहरूले व्यावसायिक शिक्षा प्राप्त गरिसकेका छन् भने हाल सुरु भएको १६ औँ ब्याचमा १८ जना सहभागी रहेका छन्।
प्रशिक्षणको शुभारम्भका अवसरमा एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर–बंगलादेश शाखाका प्रबन्ध निर्देशक जेराल्ड सङ्घो चुन र चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले प्रशिक्षण सत्रको अवलोकन गरे ।
“युवा सशक्तीकरण र सीप विकासमा केन्द्रित यस साझेदारीको अर्को महत्त्वपूर्ण चरणमा प्रवेश गर्न पाउँदा हामी गौरवान्वित छौँ। शिक्षाले समाजमा कस्तो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण सहभागीहरूले प्रस्तुत गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ।” प्रबन्ध निर्देशक चुनले भने ।
त्यसैगरी चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले व्यावहारिक सीपमार्फत मानिसलाई सक्षम बनाउनु सबैभन्दा अर्थपूर्ण लगानी भएको बताए । ‘एलजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा धेरै व्यक्तिलाई अवसर सिर्जना गर्दै जीविकोपार्जनका सम्भावना विस्तार गरी देशको आर्थिक विकासमा योगदान पुर्याउने हाम्रो लक्ष्य हो। आगामी दिनमा पनि दक्ष जनशक्ति विकासमा हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।’ उनले भने ।
यस कार्यक्रमले शिक्षा र रोजगारीबीचको दूरी कम गर्दै नेपाली युवाहरूलाई बजारको मागअनुसारको सीप प्रदान गरी सफल करियर निर्माणमा सहयोग पुर्याउँदै आएको छ। सन् १९९५ मा स्थापित चौधरी फाउन्डेसनले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको दिगो विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ भने एलजी इलेक्ट्रोनिक्सले विश्वव्यापी रूपमा नवीन प्रविधि र ऊर्जा–दक्ष उत्पादनहरू मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।










प्रतिक्रिया