काठमाडौँ । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गर्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न र तत्काल आवश्यकता नभए लाइनमा नबस्न आग्रह गरेको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै संघले भारतबाट ग्यासको आयात नियमित रूपमा भइरहेको र आपूर्तिमा कुनै कटौती नभएको जनाएको छ। पछिल्ला दिनमा विभिन्न स्थानमा उपभोक्ताले ग्यासका लागि लामो लाइन बस्नुपरेको अवस्थाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ।
संघका अनुसार विगत केही महिनामा अपेक्षाभन्दा कम आयात भएका कारण आधा सिलिन्डर वितरणको व्यवस्था लामो समयसम्म कायम रह्यो। अहिले १४ दशमलव २ किलोग्राम क्षमताका पूरा सिलिन्डर वितरण सुरु भएपछि धेरै उपभोक्ताले एकैपटक खाली सिलिन्डर रिफिलका लागि ल्याउँदा बजारमा अस्थायी दबाब सिर्जना भएको हो।
संघले विगत छ महिनामा नियमित आवश्यकताभन्दा करिब ४५ हजार मेट्रिक टन कम ग्यास आयात भएकाले त्यसको प्रभाव अझै बाँकी रहेको जनाएको छ। अहिले धेरै उपभोक्ताले एकैपटक खाली सिलिन्डर भर्न थालेकाले वितरण प्रणालीमा असन्तुलन देखिएको संघको भनाइ छ।
संघले कम्तीमा एक महिनासम्म पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबस्न आग्रह गर्दै विक्रेता र उद्योगीलाई पारदर्शी तथा व्यवस्थित रूपमा वितरण गर्न अनुरोध गरेको छ। साथै, आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न पनि उपभोक्तालाई अपिल गरेको छ।
विज्ञप्तिमा नेपाल आयल निगम, ग्यास उद्योग, विक्रेता तथा उपभोक्ताबीच समन्वय र सहकार्य भए वितरण प्रणाली सहज हुने उल्लेख गर्दै नियमितभन्दा बढी ग्यास आयात तथा व्यवस्थित वितरणमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।











प्रतिक्रिया