युरोपमा टेक रोड शो गर्दै नास आईटी, नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने


काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नाास आईटी) ले भदौ २१ गतेदेखि असोज ५ गतेसम्म (सेप्टेम्बर ६ देखि २१) संयुक्त अधिराज्य (यूके) र स्विट्जरल्यान्डमा ‘नेपाल टेक रोडशो युरोप (यूके र स्विट्जरल्यान्ड) २०२६’ आयोजना गर्ने भएको छ।

रोडशोमार्फत नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूलाई युरोपका व्यवसाय, स्टार्टअप, लगानीकर्ता, इनोभेसन हब तथा गैरआवासीय नेपाली प्रविधि समुदायसँग जोड्दै नयाँ व्यावसायिक साझेदारी, प्रविधि निर्यात र लगानीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको नास आईटीले जनाएको छ।

यो कार्यक्रम स्विस सरकार विकास सहयोग (एसडीसी) र नेपाल इन बिजनेस–ग्रोथ एडभाइजर्स’ कार्यक्रम यूके इन्टरनेसनल डेभलपमेन्टको सहयोग तथा डीएआई ग्लोबल यूकेको कार्यान्वयनमा आयोजना हुन लागेको हो। यसअघि सन् २०२५ मा अष्ट्रेलिया र सन् २०२६ मा अमेरिकामा सफलतापूर्वक सम्पन्न भएका रोडशोको निरन्तरताको रूपमा युरोप संस्करण आयोजना गर्न लागिएको हो।

यस रोडशोले नेपाली आईटी उद्योगलाई युरोपसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण भूमिका खेल्ने नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताए ।

‘नेपाली आईटी कम्पनीहरूले आफ्नो क्षमता अन्तर्राष्ट्रिय बजारमा प्रमाणित गरिसकेका छन्। अब हामी युरोपका व्यवसाय, लगानीकर्ता र प्रविधि समुदायसँग प्रत्यक्ष सहकार्य विस्तार गर्न चाहन्छौं। यो रोडशोले नेपाली कम्पनीहरूलाई नयाँ बजार, नयाँ साझेदार र दीर्घकालीन व्यावसायिक सम्बन्ध निर्माण गर्ने अवसर प्रदान गर्नेछ। साथै, नेपाललाई विश्वसनीय प्रविधि साझेदारका रूपमा थप स्थापित गर्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने।

काठमाडौंमा आयोजित मिडिया ब्रिफिङमार्फत नास आईटीले ‘नेपाल टेक रोडशो यूके एन्ड युरोप २०२६’ को औपचारिक घोषणा गरेको थियो।

रोडशोको पहिलो चरण सेप्टेम्बर ६ देखि १२ सम्म यूकेमा सञ्चालन हुनेछ। यसको मुख्य कार्यक्रम सेप्टेम्बर ९ मा लन्डनस्थित रेडिसन ब्लु होटल लण्डन हिथ्रो मा हुनेछ। कार्यक्रममा नेपालको आईटी उद्योगको विकास, सम्भावना, नेपाली कम्पनीहरूको क्षमता, अन्तर्राष्ट्रिय अनुभव तथा व्यावसायिक सहकार्यका अवसरबारे प्रस्तुति र छलफल हुनेछ। नास आईटीका १७ भन्दा बढी सदस्य कम्पनीहरूले आफ्ना सेवा, उत्पादन तथा नवीन प्रविधिमा आधारित समाधान अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नेछन्।

रोडशोको दोस्रो चरण सेप्टेम्बर १३ देखि २१, सम्म स्विट्जरल्याण्डमा आयोजना हुनेछ। यसअन्तर्गत मुख्य कार्यक्रम सेप्टेम्बर १६ मा ज्युरिखस्थित होटल सेन्ट गोठार्ड मा आयोजना गरिनेछ। यस क्रममा सहभागी कम्पनीहरूले युरोपका व्यवसाय, सम्भावित साझेदार, स्टार्टअप, इनोभेसन हब तथा अन्य सरोकारवालासँग व्यावसायिक भेटघाट, छलफल र नेटवर्किङ गर्नेछन्। यसबाट नयाँ साझेदारी, सेवा विस्तार, वैदेशिक लगानी आकर्षण तथा दीर्घकालीन सहकार्यका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

नेपालको आईटी उद्योग अहिले देशकै सबैभन्दा तीव्र गतिमा विकास भइरहेको क्षेत्रमध्ये एक हो। यस क्षेत्रमा एक लाखभन्दा बढी दक्ष जनशक्ति कार्यरत रहेको र विदेशी आम्दानीमा वार्षिक २० देखि २५ प्रतिशतसम्म वृद्धि भइरहेको अनुमान छ। नास आईटीका अनुसार दक्ष जनशक्ति, अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर विकास क्षमता र प्रतिस्पर्धी सेवाका कारण नेपाल विश्वसनीय प्रविधि साझेदारका रूपमा स्थापित हुँदै गएको छ। यही सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा थप विस्तार गर्न रोडशो आयोजना गरिएको हो।

संस्थाले यस रोडशोमार्फत नेपाली प्रविधि कम्पनीहरूको क्षमता विश्वसामु प्रस्तुत गर्दै प्रविधि सेवा निर्यात, वैदेशिक लगानी र युरोपसँगको दीर्घकालीन सहकार्यलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ।

नेपाल टेक रोडशो यूके एन्ड युरोप २०२६ मा १७ अग्रणी नेपाली प्रविधि कम्पनीहरूको सहभागिता रहने जानकारी गराइएको थियो। सहभागी कम्पनीहरूमा जास्पर आईटी प्रालि, टेकन टेक्नोलोजिज, आकाश टेक प्रालि, वेब एक्सपर्ट्स नेपाल प्रालि, मन्त्र आइडियाज प्रालि, रारा डिजिटल ल्याब प्रालि, योङ इनोभेसन्स प्रालि, डट्स एन्ड ड्यासेज टेक्नोलोजी सर्भिसेज प्रालि, फोकस डेटा एनालाइसिस प्रालि, ईके सोलुसन्स प्रालि, एमिनेन्स वेज प्रालि, इनग्रेल्स प्रालि, आलय को।, प्रोसोर नेपाल प्रालि, जिनिज सोलुसन प्रालि, एआईटीसी इन्टरनेसनल प्रालि तथा कोडिङ माउन्टेन प्रालि रहेका छन्।

यी कम्पनीहरूले सफ्टवेयर विकास, डिजिटल समाधान, सूचना प्रविधि सेवा तथा नवीन प्रविधिका क्षेत्रमा नेपालको बढ्दो क्षमता र दक्षता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने जानकारी गराइएको थियो।

साथै, रोडशोमार्फत युरोपका व्यवसाय, लगानीकर्ता तथा नवप्रवर्तनसँग सम्बन्धित संस्थाहरूसँग सहकार्य विस्तार गर्दै नयाँ बजारका अवसर खोज्ने, प्रविधि निर्यात प्रवर्द्धन गर्ने तथा दीर्घकालीन व्यावसायिक साझेदारी विकास गर्ने उद्देश्य रहेको जानकारी पनि गराइएको थियो। कार्यक्रम सञ्चारकर्मीहरूसँगको अन्तरक्रियात्मक प्रश्नोत्तर सत्रसँगै सम्पन्न भएको थियो।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार  १५ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।