विदेशी विमानस्थलबाट श्रमिक पठाउने ३९ म्यानपावर कारबाहीमा, १२४ लाई ७ दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन


काठमाडौँ । वैदेशिक रोजगार विभागले ३९ म्यानपावरलाई कारबाही गरेको छ । विभागको स्वीकृतिबिना विदेशी विमानस्थल प्रयोग गरी पठाएको भन्दै ती कम्पनीलाई कारबाही गरेको हो ।

विभागका अनुसार उनीहरूलाई ५० हजार रूपैयाँका दरले जरिबाना गराएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ अनुसार स्वदेशी विमानस्थल प्रयोग गरेर श्रमिकलाई पठाउनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था कार्यान्वयन गरे÷नगरेको विषयमा विभागले अनुगमन तथा अध्ययन गर्नका लागि २०८२ चैत १ देखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा पठाएका श्रमिकको उडान विवरण माग गरेको थियो ।

उक्त विवरण नदिएका तथा अनुमति नलिइ विदेशी विमानस्थल प्रयोग गरेका कुल ५९८ म्यानपावरलाई विभागले कारबाही गरेको हो ।

विवरण पेश नगरेका म्यानपावरलाई पुनः विवरण पेश गर्न यसअघि निर्देशन दिएको थियो । सोही आधारमा विवरण पेश गरेका तर, विदेशी विमानस्थल प्रयोग गरेर श्रमिकलाई पठाएका ३९ वटा म्यानपावर कारबाहीमा परेका हुन् ।

त्यस्तै दुई पटक विवरण पेश गर्न दिइएको निर्देशन पालना नगरेका १२४ वटा म्यानपावर कम्पनीलाई ७ दिनको अल्टिमेटम दिइएको छ । उनीहरूलाई ५० हजार रूपैयाँ जरिबाना किन नगर्ने भन्दै सात दिने स्पष्टिकरण बुझाउन निर्देशन दिएको हो ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘विभागको निर्देशन पालना नगरेको र मिति २०८३ /०३/२६ गतेको सूचनाबाट पुनः अनुरोध तथा पत्राचार गर्दा समेत तोकिएको म्याद भित्र उडानको विवरण नबुझाएको हुँदा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३७ उल्लंघनको कसूरमा ऐ. ऐनको दफा ५४ बमोजिम दोश्रो पटक कसुर दोहो–याएको कसूरमा ५० हजार जरिवाना किन नगर्ने भनि सात दिन भित्र स्पष्टिकरण पेश गर्ने ’ ।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार  १६ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।