काठमाडौँ । नेपालमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा स्मार्टफोन आयातमा ४८ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बाहिरिएको हो ।
एक वर्षमा विभिन्न मूलुकबाट २२ लाख ६७ हजार ४१९ वटा स्मार्टफोन भित्रिएका छन् । यी स्मार्टफोन आयात गर्दा आयातकर्ताले ९ अर्ब ८ करोड २३ लाख रुपैयाँ राजश्व बुझाएका छन् ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत वर्ष २६.९९ प्रतिशत बढी स्मार्टफोन आयात भएको हो । अघिल्लो वर्ष ३५ अर्ब ५४ करोड ७३ लाख रुपैयाँको २१ लाख ८४ हजार ६९४ वटा स्मार्टफोन नेपाल भित्रिएको थियो ।
गत वर्ष नेपालले १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । जसमध्ये स्टार्टफोन धेरै रकमको आयात हुने वस्तुको छैटौं स्थानमा छ । पहिलो स्थानमा डिजेल, दोस्रो स्थानमा सोयाबिन तेल र तेस्रो स्थानमा पेट्रोल छ ।
आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको १८ लाख ३९ हजार ३५ वटा स्मार्टफोन आयात भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७९÷८० मा २४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँको १५ लाख ६९ हजार ५९६ वटा र आर्थिक वर्ष २०७८÷७९ मा भने २ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ बराबरको १ लाख ७६ हजार ५१० वटा स्मार्टफोन आयात भएको थियो ।
स्मार्टफोन आयातमा विभागको तथ्यांक हेर्दा नेपालमा कोभिड १९ यता स्मार्टफोन आयात उल्लेख्य वृद्धि भएको हो ।
कुन-कुन देशबाट आउँछ स्मार्टफोन
गत आर्थिक वर्ष नेपालमा चीन, भारत, अमेरिका, यूएई, जापान, अष्ट्रेलिया, कतार, कोरिया, यूके, हङकङलगायत ६६ वटा मुलुकबाट स्मार्टफोन आयात भएको छ ।
एक वर्षमा सबैभन्दा बढी चीनबाट २४ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ५१ हजार ८२३ वटा स्मार्टफोन नेपाल भित्रिएको छ ।
त्यसैगरी, भारतबाट पनि नेपालमा स्मार्टफोन उल्लेख्य मात्रामा आयात भएको छ । समिक्षा अवधिमा भारतबाट १० अर्ब ३ करोड २२ लाख रुपैयाँ बराबरको ४ लाख २४ हजार ८४४ वटा स्मार्टफोन आयात भएको हो ।
समिक्षा अवधीमा अमेरिकाबाट १ हजार २५९ वटा स्मार्टफोन भित्रिएको छ । उक्त फोन आयात हुँदा १४ करोड २६ लाख रुपैयाँ बाहिरीएको छ, भने यूएईबाट १ हजार १४१ वटा फोन १२ करोड रुपैयाँमा आयात भएको हो ।
त्यस्तै, जापानबाट ८ करोड १४ लाख रुपैयाँ बराबरको १ हजार ७ वटा स्मार्टफोन आयात भएको छ । सोही अवधीमा अष्टेलियाबाट ६३५ वटा स्मार्टफोन भित्रिएको हो । सो फोनबाट आयात गर्दा ८ करोड १७ लाख रुपैयाँ बाहिरीएको छ ।
कतारबाट ५ करोड २१ लाख रुपैयाँको ४०८ वटा, कोरियाबाट ३ करोड ९५ लाख रुपैयाँको ५८० वटा स्मार्टफोन नेपाल भित्रिएको छ । यूकेबाट २ करोड २१ लाख रुपैयाँको २१० वटा र हङकङबाट १ करोड २८ लाख रुपैयाँमा १३६ वटा स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ ।
नेपालमा बनेको स्मार्टफोन बिदेशमा पनि
नेपाल विभिन्न मुलुकमा उत्पादित स्मार्टफोनको ठुलो बजार हो । वर्षेनी विदेशबाट अर्बौ रुपैयाँको स्मार्टफोन नेपाल भित्रिन्छ । तर, नेपालबाट पनि विदेशतर्फ स्मार्टफोन निर्यात हुने गरेको छ ।
गत आर्थिक वर्ष नेपालबाट २० लाख १९ हजार रुपैयाँको स्मार्टफोन निर्यात भएको छ । समिक्षा अवधिमा नेपालबाट १० वटा मोबाइल निर्यात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा १ लाख ७० हजार रुपैयाँको स्मार्टफोन निर्यात भएको थियो । हालसम्म नेपालमा बनेको स्मार्टफोन भुटानमात्र निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।










प्रतिक्रिया