काठमाडाैँ । देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई कृत्रिम अभाव, कालोबजारी वा वितरणमा अनियमितता देखिए मोबाइल नम्बर ९८५१११६७७३ मा सिधै जानकारी गराउन आग्रह गरेको छ।
उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले जारी गरेको सूचनाअनुसार बजारमा ग्यास नपाउने, कृत्रिम अभाव सिर्जना गरिएको, तोकिएको मूल्यभन्दा बढी रकम असुल गरिएको वा आपूर्तिमा कुनै समस्या देखिए उक्त नम्बरमा सम्पर्क गरी उजुरी वा जानकारी दिन अाग्रह गरेकाे हाे।
मन्त्रालयले प्राप्त हुने हरेक गुनासोलाई गम्भीरतापूर्वक लिइने जनाएको छ। प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिने पनि मन्त्रालयको भनाइ छ।
करिब २० दिनदेखि एलपी ग्यासको आपूर्ति असहज हुँदा देशका विभिन्न स्थानका उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य छन्। धेरैले लामो समय पालो कुरे पनि रित्तो सिलिन्डर लिएर घर फर्किनुपरेको गुनासो गरेका छन्।
यही अवस्थाको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा ग्यास बिक्री गरिरहेको गुनासो बढ्दै गएपछि मन्त्रालयले सचिवालयमार्फत सिधै उजुरी गर्ने व्यवस्था मिलाएको हो। मन्त्रालयले कालोबजारी र अनियमित गतिविधिमाथि कडाइका साथ निगरानी र कारबाही गरिने जनाएको छ।










प्रतिक्रिया