प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेका छन् ।

उनीहरूबीच नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए ।

राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए ।

यसअघि आजै प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरेका थिए ।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार  १६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।