गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै


सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले थिलथिलो बनाएको समाजमा सीप र मेहनतले जुनसुकै पेसा गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेका छन् । लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन ।

चौध वर्षदेखि घरमै सञ्चालन गरेको फर्मबाट उत्पादन गरेको जैविक र गड्यौला मल बेचेर आफूले विदेशको भन्दा धेरै आम्दानी गर्न सफल भए। “मिहेनत गर्ने हिम्मत र हातमा सीप भए एक दुई लाख कमाउन विदेश जानु पर्दैन”, लोप्चनले भने । धमाधम मल प्याकिङ गरिरहनु भएको लोप्चनले किसानहरूको मागअनुसार मल दिन नसकेको बताउँछन्।

जैविक मल बोट बिरुवाको लागि निकै उपयोगी मानिन्छ । यहाँ उत्पादन भएको मल गाउँ घरमा गमलामा फूल रोप्नदेखि नर्सरीमा बिरुवा उत्पादन गर्न र व्यावसायिक तरकारीखेती गर्ने किसानले बेर्ना निकाल्न प्रयोग गर्ने गर्दछन् । सुरुमा जैविक तथा गड्यौला मल बोटबिरुवाको लागि रासायनिक मलखादभन्दा राम्रो हुन्छ भन्ने विश्वास दिलाउन निकै सास्ती भएको उनको कथन छ । अहिले उनीहरु आफैँ मल खोज्दै आउँछन्, खुसी लाग्छ लोप्चनले सुनाए। साना बेर्ना तथा बोट बिरुवामा रासायनिक मलखाद प्रयोग गर्न नमिल्ने हुँदा जैविक तथा गड्यौला मलको माग उच्च रहेको उनले सुनाए।

गड्यौला मल कृषि बजारमा कालो हीरा (ब्ल्याक डाइमण्ड) को रुपमा बिक्री वितरण हुने गरेको छ । लोप्चनले २०६९ सालतिर कृषि ज्ञान केन्द्रले दिएको जैविक तथा गड्यौला मल उत्पादनसम्बन्धी सात दिनको तालिम लिएका थिए । तालिम लिएर आएपछि उत्पादन सुरु गर्नुभएको उहाँले बजार खोज्दाको सास्ती अझै भुलेका छैनन् । गाउँमा तरकारीखेती गर्ने किसानले भारतबाट बिरुवामा हाल्ने मन ल्याउने चलन थियो । “मैले धेरै अनुरोध गरी सम्झाए बुझाएँ”, उनले भने, “आफ्नो गाडीले १०÷१० बोरा मल निःशुल्क खेतमा लगेर दिएर प्रयोग गर्न अनुरोध गरेँ । खेती राम्रो भएपछि किसानहरु आफैँ मल खोज्दै आउन थाले ।”

तरकारीमा आलु, प्याज, काउली, टमाटरखेतीको लागि सर्लाहीको लालबन्दी निकै चर्चित ठाउँ हो । त्यसपछि बजारले आफूलाई खोज्न थालेको उनले सुनाए। तालिमबाट आधारभूत ज्ञान र एक हजार वटा गड्यौला पाएपछि सुरु गरेको मल उत्पादन अहिले उहाँको मनग्य आम्दानीको बाटो बनेको छ ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार  १३ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।