‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन भएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो मंगलबार बिहान नेपाल प्रहरी क्लबस्थित हलमामा विशेष औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।
स्पेसल प्यानल अफ गेस्टले उद्घाटन गरेको कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन किनबेच गर्ने थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एकै ठाउँमा ल्याउने साझा मञ्च भएको बताइन् । उनले पटक–पटक फेरिने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता सिर्जना गरेकाले नयाँ लगानी भित्रिन समस्या भइरहेको बताइन् । उनले निजी क्षेत्र र सरोकारवालाहरुसँग छलफल गरेरमात्रै नीतिहरु परिवर्तन गर्न सरकारलाई सुझाव दिइन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सवारीसाधन बिक्री गरेरमात्रै नहुने र सुरक्षाको क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्न व्यवसायीहरुलाई सुझाव दिए । उनले ब्रान्डहरुले बिक्रीपछिको सेवामा ध्यान दिनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई सधैं राजस्वको स्रोतको रुपमा मात्रै हेरेको गुनासो गरे । उनले अटोमोबाइल क्षेत्रलाई विलासी नभई आवश्यकताको क्षेत्रको रुपमा लिन सुझाव दिए । नेपालमा अटोमोबाइल क्षेत्रमा संसारकै सबैभन्दा उच्च भन्सार दर लागू गरिएको उनले बताए ।
सबै व्यवसायको लागि स्थिर नीति आवश्यक पर्ने भएकाले विद्युतीय सवारीका लागि पनि स्थिर नीति लिन उनले सुझाव दिए । अध्यक्ष श्रेष्ठले निजी क्षेत्र लगानी गर्न तयार रहेको तर त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्ने बताए ।
त्यस्तै नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई राजस्व प्रदान गर्ने प्रमुख क्षेत्रमध्ये एक भएकाले सरकारले उच्च प्राथमिकतामा राखेर हेर्नुपर्ने धारणा राखे । उनले यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी अब यातायातको विषय मात्रै नभएर देशको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए । नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको तथ्यांक उनले पेस गरे ।
‘यो क्षेत्र बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिजस्ता विविध क्षेत्रसँग अन्तरसम्बन्धित छ । त्यसैले यस क्षेत्रलाई केवल विलासिता वा उपभोगको क्षेत्रका रूपमा नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्छ,ु उनले भने ।
उद्घाटन सत्रमा नेपाल सरकारका विशिष्ट पदाधिकारीहरु, विभिन्न कूटनीतिक नियोगका अधिकारीहरु, प्रतिष्ठित संघसंस्थाका पदाधिकारीहरु, नाइमाका सञ्चालक समितिका पदाधिकारी एवं सदस्य संस्थाहरु, नाइमा नेपाल प्रदर्शनी साझेदार संस्थाहरु, अटो क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाहरुलगायतको विशेष उपस्थिति रह्यो ।
पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । त्यस्तै २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया