खनिज क्षेत्रको राजस्व सङ्कलन खस्कियो


काठमाडौँ । खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत सङ्कलन गर्ने राजस्वमा गत आर्थिक वर्ष करिब ७० करोड रुपैयाँले कमी आएको जनाएको छ ।

विभागले आर्थिक वर्ष २०८१र८२ मा १ अर्ब ५९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेकामा आर्थिक वर्ष २०८२र८३ मा ८९ करोड ४८ लाख रुपैयाँ मात्र सङ्कलन गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विभागको राजस्व सङ्कलन करिब ४४ प्रतिशतले घटेको देखिन्छ ।

विभागका प्रवक्ता एवं उपमहानिर्देशक गणेशनाथ त्रिपाठीका अनुसार खानी खोज तथा उत्खनन अनुमतिपत्र वितरण, इजाजत नवीकरण, भूबहाल, नक्सा तथा प्रतिवेदन शुल्कलगायतबाट विभागले राजस्व सङ्कलन गर्दै आएको छ ।

उनका अनुसार देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत खनिजजन्य वस्तुको उत्खननका लागि विभागले अनुमति प्रदान गर्दै आएको छ ।

स्वदेशमा रहेका खनिज सम्पदाको अन्वेषणमार्फत खनिजजन्य उद्योगको विकास गर्ने उद्देश्यले विभागले टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामालगायत खानीका लागि अनुमति दिएको छ ।

विभागले खानी अनुमति, खनिज प्रशोधन, अनुगमन तथा विवाद समाधान, पेट्रोलियमसम्बन्धी आर्थिक अध्ययन तथा प्रवर्द्धन, धातु तथा अधातु खनिज अन्वेषण, खानी ड्रिलिङ, इन्जिनियरिङ भौगर्भिक अध्ययन र भूकम्प मापनलगायतका काम गर्दै आएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार  ०९ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।