एनआईसी एसिया बैंकद्वारा नेपालमै पहिलोपटक एप्पल पे र गुगल पेबाट भुक्तानी स्वीकार गर्ने सेवा सुरु


काठमाडौँ । एनआईसी एसिया बैंकले नेपालमै पहिलोपटक एप्पल पे र गुगल पे प्रयोगकर्ताबाट भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। यससँगै बैंकको ई–कमर्स पेमेन्ट गेटवेमा आबद्ध व्यवसायीले विश्वभर रहेका एप्पल पे र गुगल पे प्रयोगकर्ताबाट सहज रूपमा भुक्तानी प्राप्त गर्न सक्ने भएका छन्।

बैंकका अनुसार डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको हो। बैंकको ई–कमर्स पेमेन्ट गेटवेमा आबद्ध भएका तथा आबद्ध हुन चाहने व्यवसायीले अब आफ्नो ई–कमर्स प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय ग्राहकबाट एप्पल पे र गुगल पे प्रयोग गरी भुक्तानी लिन सक्नेछन्।

एप्पल पे र गुगल पे विश्वव्यापी रूपमा प्रयोग हुने मोबाइलमा आधारित डिजिटल भुक्तानी माध्यम हुन्। यी माध्यमबाट ग्राहकले भौतिक कार्ड प्रयोग नगरी आफ्नो कार्ड विवरण मोबाइलमा सुरक्षित रूपमा राखेर भुक्तानी गर्न सक्छन्। यसले अन्तर्राष्ट्रिय ग्राहकका लागि अनलाइन कारोबारलाई थप सहज बनाउने बैंकको विश्वास छ।

यो सुविधाबाट विशेषगरी होटल, ट्राभल तथा टुर व्यवसाय, हस्तकला, एयरलाइन्स, ई–कमर्स र सूचना प्रविधि क्षेत्रका व्यवसायी लाभान्वित हुने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय ग्राहकसँग कारोबार गर्ने नेपाली व्यवसायीले परिचित डिजिटल भुक्तानी माध्यम उपलब्ध गराउन सक्ने भएकाले ग्राहकको भुक्तानी अनुभव थप सहज हुने बैंकले जनाएको छ।

बैंकका अनुसार यो सेवाले पर्यटन तथा आतिथ्य क्षेत्र, यात्रा व्यवसाय, अनलाइन व्यापार, सूचना प्रविधि र वस्तु निर्यात गर्ने व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्‍याउन सक्छ। विदेशी ग्राहकबाट भुक्तानी प्राप्त गर्ने प्रक्रिया सहज हुँदा नेपाली व्यवसायीलाई अन्तरदेशीय व्यापार विस्तार गर्न र विदेशी मुद्रा आर्जनको सम्भावना बढाउन समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

नेपालमै पहिलोपटक सुरु गरिएको दाबी गरिएको यस सेवाले डिजिटल भुक्तानीलाई थप सरल र सुरक्षित बनाउनुका साथै बैंकका व्यावसायिक ग्राहकको कारोबार विस्तारमा सहयोग गर्ने बैंकले विश्वास लिएको छ। साथै, अन्तर्राष्ट्रिय पर्यटक तथा ग्राहकलाई परिचित भुक्तानी सुविधा उपलब्ध गराउँदा नेपालको पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने बैंकको अपेक्षा छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र बहादुर रावलले यससम्बन्धी जानकारी दिएका हुन्।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  १६ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।