आईसीआरए प्रतिवेदन

सहकारी संकटको बाछिटा बैंकको कर्जा गुणस्तरसम्म पुग्ने जोखिम


काठमाडौँ । सहकारी क्षेत्रमा करिब ८७ अर्ब रुपैयाँ निक्षेप रोकिएको अवस्थामा त्यसको असर बैंक तथा वित्तीय संस्थाका ऋणीको नगद प्रवाह र ऋण भुक्तानी क्षमतासम्म पुग्न सक्ने जोखिम देखिएको छ ।

सहकारीबाट हुने कर्जा तथा तरलता प्रवाह कमजोर हुँदा साना तथा अनौपचारिक व्यवसाय प्रभावित हुनसक्ने र त्यसको असर बैंकबाट ऋण लिएका व्यवसायीको भुक्तानी क्षमतामा समेत पर्न सक्ने आईसीआरए नेपालको प्रतिवेदनले देखाएको हो ।

आईसीआरए नेपालको ‘नेपाली बैंकिङ क्षेत्र : कार्यसम्पादन र सम्भावना’ प्रतिवेदन अनुसार समस्याग्रस्त सहकारीमा रोकिएको करिब ८७ अर्ब रुपैयाँ निक्षेप संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारीहरूलाई साना तथा अनौपचारिक व्यवसायका महत्वपूर्ण ऋणदाता मानिन्छ । अस्थायी नगद अभावमा परेका व्यवसायीलाई पूरक कर्जा उपलब्ध गराउने माध्यमका रूपमा पनि सहकारीले काम गर्दै आएका छन् । तर सहकारी क्षेत्रमा देखिएको संकटपछि यस्तो वित्तीय सहयोग गर्ने क्षमता कमजोर भएको आईसीआरएको निष्कर्ष छ ।

सहकारीबाट रकम फिर्ता नपाएका वा नयाँ कर्जा लिन नसकेका व्यवसायीको नगद प्रवाह कमजोर भए त्यसको असर उनीहरूले बैंकबाट लिएको कर्जा भुक्तानीमा पर्न सक्ने प्रतिवेदनले जनाएको छ । समयमै किस्ता तथा ब्याज तिर्न नसक्दा बैंकको निष्क्रिय कर्जा बढ्ने जोखिम रहने प्रतिवेदनले देखाएको छ ।

एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने सहकारी क्षेत्रको समस्या बढ्दै जाँदा त्यसको असर बैंकिङ क्षेत्रमा पर्नु स्वाभाविक भए पनि अहिले नै त्यस्तो प्रत्यक्ष असर नदेखिएको बताउँछन् । उनका अनुसार सहकारी ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार हुनुका साथै किसान तथा सर्वसाधारणको बचत परिचालन गर्ने प्रमुख माध्यम हो ।

“सहकारी क्षेत्रमा आएको समस्याले आर्थिक गतिविधिमा असर पार्दै जाँदा त्यसको प्रभाव व्यवसायी तथा सर्वसाधारणको वित्तीय कारोबार हुँदै बैंकिङ क्षेत्रमा पनि पर्न सक्छ,” उनले भने “तर अहिले नै सहकारी संकटका कारण बैंकिङ क्षेत्रमा प्रत्यक्ष समस्या देखिएको अवस्था भने छैन ।”

यद्यपि, बैंकिङ क्षेत्रमा कर्जाको गुणस्तरमा भने विगत केहि वर्षदेखि नै दबाब आएको देखिन्छ । आईसीआरएका अनुसार वाणिज्य बैंकहरूको कुल निष्क्रिय कर्जा अनुपात २०२२ को मध्यतिरको १.२० प्रतिशत रहेकोमा २०२६ अप्रिलसम्म बढेर ५.४१ प्रतिशत पुगेको छ ।

आईसीआरएका अनुसार बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्नुमा ऋणीको नगद प्रवाहमा देखिएको दबाब, आर्थिक गतिविधिमा आएको सुस्तता, घरजग्गा तथा दोस्रो बजारमा आएको मन्दीलगायतका कारण छन् । त्यसैले बैंकिङ क्षेत्रमा देखिएको कर्जा गुणस्तरको समस्या सहकारी संकटका कारण मात्र भएको भने नभएको देखिन्छ ।

तर सहकारी संकटले यस्तो दबाबलाई थप बढाउन सक्ने जोखिम रहेको प्रतिवेदनको भनाई छ । सहकारीबाट थप कर्जा वा आफ्नो बचत फिर्ता पाउन नसकेका व्यवसायीले बैंकको कर्जा तिर्न प्रयोग गर्ने नगद स्रोत गुमाउन सक्छन् । विशेषगरी सहकारीमा निर्भर रहेका साना तथा अनौपचारिक व्यवसायमा यस्तो समस्या देखिए बैंकका ऋणीको भुक्तानी क्षमतामा समेत असर पर्न सक्ने देखिन्छ ।

घरजग्गामा पनि पर्न सक्छ असर

सहकारी संकटको असर बैंकले धितोका रूपमा राखेको घरजग्गामा समेत पर्न सक्ने आईसीआरएको विश्लेषण छ । सहकारीको असुली प्रक्रियाका क्रममा ठूलो मात्रामा घरजग्गा बिक्रीमा आए त्यसले बजारमा बिक्रीका लागि आउने सम्पत्तिको आपूर्ति बढाउन सक्ने प्रतिवेदनले औल्याएको छ । माग कमजोर रहेको अवस्थामा आपूर्ति बढ्दा घरजग्गाको मूल्य र बिक्रीयोग्यतामा दबाब पर्न सक्छ । लामो समयसम्म यस्तो अवस्था रहे बैंकले धितो बिक्री गरेर कर्जा असुली गर्न पनि कठिन हुन सक्नेमा प्रतिवेदनले सचेत गराएको छ ।

आईसीआरएका अनुसार ऋणीले आफ्नो ऋण घटाउन खोज्ने र बैंकले निष्क्रिय कर्जा नियन्त्रण गर्न खोज्ने अवस्थाका कारण घरजग्गा बजारमा बिक्रीकर्ताको संख्या बढेको छ । केही क्षेत्रमा बिक्रीकर्ता र खरिदकर्ताबीचको मूल्य अन्तरसमेत ठूलो रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्था लामो समयसम्म रहे वा बैंकले धितो बिक्री गर्नुपर्ने अवस्था बढे घरजग्गाको मूल्यांकनमा थप उतारचढाव आउन सक्ने आईसीआरएको विश्लेषण छ ।

सहकारी संकटको असर बैंकिङ क्षेत्रमा पर्न सक्ने भए पनि त्यसलाई तत्कालै बैंकिङ प्रणालीमा तरलता संकट निम्त्याउने कारणका रूपमा भने हेर्न नसकिने आईसीआरएले जनाएको छ । रेमिट्यान्स आप्रवाहका कारण निक्षेप बढिरहेको तर कर्जाको माग कमजोर रहेकाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको प्रतिवेदनमा उल्लेख छ ।

वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) २०२६ अप्रिलको मध्यसम्म करिब ७३ प्रतिशतमा रहेको छ । नियामकीय अधिकतम ९० प्रतिशतको तुलनामा यो निकै कम हो । कर्जाको माग कमजोर हुँदा बैंकहरूमा रहेको अतिरिक्त तरलता परिचालन गर्नसमेत चुनौती रहेको आईसीआरएको भनाइ छ ।

यसकारण अहिले सहकारी संकटबाट बैंकमा देखिन सक्ने मुख्य जोखिम बैंकसँग पैसा अभाव हुनु नभई बैंकका ऋणीसँग नगद अभाव हुनु हो । सहकारीबाट आउने वैकल्पिक कर्जा तथा तरलता सहयोग कमजोर हुँदा व्यवसायीको नगद प्रवाहमा दबाब पर्न सक्छ । त्यसको असर बैंकको कर्जा भुक्तानीमा देखिए निष्क्रिय कर्जा थप बढ्ने देखन्छ ।

बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्दा कर्जा नोक्सानी व्यवस्थापन खर्च बढ्नुका साथै बैंकको नाफा र पुँजीमा समेत दबाब पर्न सक्छ । आईसीआरएका अनुसार पछिल्ला वर्षमा कर्जाको गुणस्तरमा आएको दबाब र बढ्दो प्रावधानका कारण अधिकांश बैंकको टियर–१ पुँजीमा समेत दबाब परेको छ ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार  ०८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।