रास्वपाको नियन्त्रणमा तानिँदै प्रधानमन्त्री बालेन, संसदमा जवाफ दिन सभामुखको रुलिङ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र प्रधानमन्त्री बालेन र सभापति रवि लामिछाने पक्षबीच मतभेद देखिन थालेको चर्चा भइरहेका बेला प्रधानमन्त्री बालेनलाई पार्टीको नियन्त्रणमा तान्न खोजिएको संकेत देखिएको छ।

प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा उठाएका प्रश्नको जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई रुलिङ गरेका छन्।

सभामुख अर्यालले प्रतिनिधि सभा बैठकमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन्।

सभामुख अर्यालले भने, “प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएको छ। यसै सन्दर्भमा प्रतिनिधि सभा बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सदस्यहरूको प्रश्नको जवाफ दिन म प्रधानमन्त्रीलाई निर्देश गर्दछु।”

प्रतिनिधि सभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था गरिएको छ।

नियमावलीमा भनिएको छ, “प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ।”

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी यो व्यवस्था बाध्यकारी रहेको देखिन्छ। निर्धारित दिन प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसके त्यसपछि बस्ने बैठकमा उक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा छ।

यसअघि रास्वपा नेता मनिष झाले प्रधानमन्त्री बालेनलाई लक्षित गर्दै कालो चस्माबाट बाहिर निस्किन भनेका थिए। झाले प्रधानमन्त्रीको कार्यशैली तथा सरकार सञ्चालनलाई लिएर गरेको उक्त टिप्पणीलाई रास्वपाभित्र प्रधानमन्त्रीप्रति असन्तुष्टि बढ्दै गएको संकेतका रूपमा समेत व्याख्या गरिएको थियो।

पार्टीभित्र प्रधानमन्त्री बालेन र सभापति रवि लामिछाने पक्षबीच दूरी बढेको चर्चा चलिरहेका बेला झाले संसदमा गरेको टिप्पणी र अहिले सभामुखले संसदमा उपस्थित भएर जवाफ दिन गरेको रुलिङलाई जोडेर हेर्न थालिएको छ।

यसले प्रधानमन्त्री बालेनमाथि पार्टीभित्र र संसद दुवैतर्फबाट राजनीतिक दबाब बढ्दै गएको संकेत गरेको छ।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार  १४ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।