६० दिने वार्ता असान्दर्भिक भएको इरानको दाबी


काठमाडाैँ । इरानले अमेरिका र इरानबीच भएको १४–बुँदे समझदारीमा उल्लेखित ६० दिने वार्ताको अवधि अब सान्दर्भिक नरहेको बताउँदै अमेरिकाले समझदारीमा हस्ताक्षर गरेको केही सातामै त्यसको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार ६० दिनको अवधि समाप्त भएको विषयमा प्रतिक्रिया दिँदै इरानले बाह्य दबाब, अल्टिमेटम वा समयसीमाका आधारमा आफ्नो नीति तय नगर्ने बताए। उनका अनुसार समझदारीमा प्रतिबन्ध हटाउने र आणविक विषयमा ६० दिनभित्र छलफल गर्ने तथा सहमति हुन नसके अवधि थप गर्न सकिने व्यवस्था थियो।

“संयुक्त राज्य अमेरिकाले जुन १८ मा समझदारीमा हस्ताक्षर गरेको केही सातामै त्यसको पाठको घोर र व्यापक उल्लङ्घन गरेकाले ६० दिने छलफल अब सान्दर्भिक छैन”, बाघाईले भने।

इरानी समाचार संस्था आइएसएनएका अनुसार उनले उक्त समझदारीअन्तर्गत वास्तविक वार्ता नै सुरु हुन नसकेको दाबी गरे। बाघाईले इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षालाई आधार बनाएर निर्णय गर्ने स्पष्ट पार्दै दबाब वा समयसीमाका आधारमा नीति परिवर्तन नगर्ने बताए।

उनले तेहरान अहिले देशको आन्तरिक मामिला व्यवस्थापनमा केन्द्रित रहेको र इरानी सशस्त्र सेना सुरक्षा अवस्थाप्रति पूर्ण सतर्क रहेको बताए। “हाम्रा सशस्त्र सेनाले हरेक गतिविधिलाई खुला आँखा र पूर्ण सतर्कताका साथ हेरिरहेका छन्”, उनले भने।

छिमेकी तथा अन्य मुलुकसँगको सम्बन्ध सुदृढ पार्नु विदेश मन्त्रालयको नियमित जिम्मेवारी भएको बाघाईले बताए। उनका अनुसार इरान क्षेत्रका सबै देश तथा सम्बन्धित पक्षसँग सम्पर्कमा रहँदै कूटनीतिक गतिविधि अघि बढाइरहेको छ।

बाघाईको भनाइ इरानी संसद्का अध्यक्ष मोहम्मद गालिबफले इरान अमेरिका र इजरायलको नेतृत्वमा भएको भनिएको ‘अन्यायपूर्ण युद्ध’ मा सैन्य तथा राजनीतिक रूपमा विजयी भएको दाबी गरेको एक दिनपछि आएको हो। सरकारी प्रसारक प्रेस टिभीका अनुसार गालिबफले इरान र अमेरिकाबीचको समझदारीलाई कूटनीतिक सफलताको आधारका रूपमा समेत प्रस्तुत गरेका थिए।

गालिबफले इरान ‘सैन्य र राजनीतिक दुवै रूपमा विजयी’ भएको दाबी गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको सैन्य पूर्वाधार ध्वस्त भएको दाबी गर्दै आएका छन्।

प्रेस टिभीका अनुसार गालिबफले इरान–अमेरिका समझदारीलाई ‘गर्व र विजयको स्रोत’ भन्दै यसले कूटनीतिक मोर्चामा इरानको सफलतालाई थप बलियो बनाउन सहयोग गर्ने बताएका थिए।

रासस

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।