काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो


काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा खानीखोला–२ की २४ वर्षीया अनिता मोक्तान र खानीखोला–४ का ६१ वर्षीय कलकबहादुर माझी रहेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।

दुर्घटनामा घाइते बनेपा नगरपालिका–१४ का २५ वर्षीय राहुल तामाङ, खानीखोला–३ का २४ वर्षीय प्रदीप जर्गामगर, खानीखोला–५ का उमेर नखुलेका बौद्धमान लामा, सिन्धुपाल्चोक चौतारा नगरका धनपति रावल र जीप चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका २८ वर्षीय यसबहादुर तामाङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ।

पनौती–तालढुङ्गा भित्री सडकखण्डमा आज बिहान जीप सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटनामा परेको थियो।

सूचना अधिकारी विष्टका अनुसार लामा र रावलको अवस्था गम्भीर रहेको छ। जीप खानीखोलाबाट बनेपातर्फ आइरहेको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ।

प्रहरीले जीपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार  १७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।